कटारी खानेपानी आयोजनाको मोटर बिग्रिएको साता नाघेपनि मर्मत नहुँदा उपभोक्ताले खानेपानीको चरम अभाव भोग्नु परेको छ ।
खानेपानी आयोजनाको पानी तान्ने मोटर विग्रिएको एक साता बितेपनि मर्मत नहुँदा उपभोक्ताले खानेपानीको अभाव झेल्नु परेको हो । मौलिक अधिकारबाट वञ्चित हुनु परेको भन्दै स्थानीय उपभोक्ताले रित्तो गाग्रीसहित खानेपानीको व्यवस्था मिलाउन कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठसँग माग गरेका छन् ।
बिग्रिएको मोटर समयमा मर्मन नभएपछि नगरपालिकाले दमकलबाट पानी वितरण थालेको छ । खानेपानी आयोजनामा प्राविधिक खराबी भएकाले तत्कालका लागि दमकलबाट खानेपानीको वितरण थालिएको मेयर श्रेष्ठले बताउनु भयो । दमकलबाट प्रति घर ३० लिटर पानी वितरणको व्यवस्था मिलाइएको मेयर श्रेष्ठको भनाइ छ ।
होटेल व्यवसायीले भने अपुग पानी आफैँ व्यवस्था गर्ने गर्न थालेका छन् । नगरपालिकाले दमकलबाट चोक चोकमा पानी बाँडेपछि उपभोक्ता बाल्टिन, गाग्री लिएर पानी भर्न दमकल भएको ठाउँमा पुग्ने गरेका छन् ।
कटारी खानेपानी आयोजनाको मोटर मर्मत तथा नयाँ मोटर जडानको प्रक्रिया अन्तिम चरणमा पुगेकाले अबको केही दिनपछि मात्रै खानेपानी आयोजनाको पानी नियमित हुने मेयर श्रेष्ठले बताउनु भयो ।
खानेपानी अभावका कारण कटारी नगरपालिका–३, ४ र ५ का अधिकांश बासिन्दा प्रभावित हुनु परेको स्थानीय अस्मित पौडेलले बताउनुभयो ।
धाराको पानी बन्द भएपछि कतिपयले खोलाबाट अटोरिक्सामार्फत पानी ल्याएर दैनिक काम चलाउन थालेका छन् । बजार क्षेत्रमा पानीको माग बढ्दै जाँदा निजी रूपमा पानी व्यवस्थापन गर्न नसक्ने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् ।
पानी नभएर शौचालय जान, लुगा धुन, नुहाउन सबै समस्या भएको उपभोक्ता केदार रानामगरले बताउनु भयो ।
कटारी बजारमा पानी आपूर्ति गर्ने नयाँ खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलले आयोजनाको मुख्य मोटरमा प्राविधिक समस्या देखिएपछि पानी वितरण प्रभावित भएको बताउनु भयो । उहाँले नयाँ मोटर जडानको प्रव्रिmया जारी रहेको र छिट्टै समस्या समाधान हुने अध्यक्ष पौडेलको भनाइ छ ।
नेपालको संविधान २०७२ ले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक भनि परिभाषित गरेको छ । सोही धाराको उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ ।