INSEC Online

📅 २०८३ जेष्ठ २१

तलबभत्ता माग गर्दै एक सातायता मजदुर आन्दोलित

उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले १३ महिनादेखि तलब भत्तालगायतका कुनै पनि सेवा सुविधा नपाएपछि एक सातायता उद्योगको मूल ढोकामा धर्ना बसेर आन्दोलन गरिरहेका छन् ।

मजदुर नेता देवेन्द्र झाले ०८३ जेठ ९ गतेदेखि उद्योगको मुल ढोकामा धर्ना बसेर पाकेको तलव भत्ता माग गरिरहेको बताउनु भयो । ०८१ चैतदेखि हालसम्मको तलब भुक्तानी नभएकाले आन्दोलन गर्नु परेको झाले बताउनु भयो ।

उद्योगबाट मजदूरहरुले ८ करोड ८० लाख ५३ हजार तलब, सञ्चय कोष दाखिला हुन बाँकी ९ करोड ५० लाख ९९ हजार १ सय ३४ रुपियाँ र नागरिक लगानी कोषमा दाखिला हुन बाँकी ३ करोड ६९ लाख ६६ हजार २ सय २२ रुपियाँ छ ।

कर्मचारीको तीन वर्षदेखिको बिमाबापतको दाखिला हुन बाँकी ६ करोड ६० लाख ८१ हजार ७ सय ४५ रुपियाँ, अतिरिक्त कामको ज्याला ७६ लाख ४ हजार ३ सय ९ रुपियाँ, बिदाको रकम १ करोड १५ लाख ३० हजार ७ सय ६६ रुपियाँ पाउनका लागि आन्दोलन गर्नु परेको मजदूरहरुले बताएका छन् ।

महँगी भत्ताबापतको ५४ लाख, सट्टा बिदाको ८ लाख १७ हजार ५ सय ८८ रुपियाँ र सुरक्षाकर्मीको ०८२ चैतसम्मको तलब भुक्तानी हुन बाँकी १ करोड ७१ लाख ८६ हजार ३ सय ५७ रुपियाँ र अवकाश प्राप्त कर्मचारीलाई उद्योगले तिर्नुपर्ने दायित्व ७१ करोड ३७ लाख १ हजार ९४ रुपियाँ समेत गरी कुल १ अर्ब ४ करोड २४ लाख १३ हजार २ सय ८२ रुपियाँको आर्थिक दायित्व तत्काल सम्बोधन गर्न मजदूरहरुले माग गरेका छन् ।

उद्योगमा जीवनभर काम गरेपछि यसअघि नै अनिवार्य अवकाश प्राप्त गरेका तर सेवा सुविधा हालसम्म कतिपय कर्मचारीको मृत्यु समेत भएको छ ।

मृत्युपर्यन्त पनि उद्योगले दिनुपर्ने सेवा सुविधा नदिएका मृतक कर्मचारीमा अशोककुमार चौधरी आठौँ तह, हेमकुमार दाहाल र रामेश्वर कानु सातौँ तह, लक्ष्मी चौधरी र नेत्रप्रसाद आचार्य पाँचौ तह तथा चन्द्रकान्त चौधरी, शैलेन्द्र ठाकुर र उपेन्द्रबहादुर रखाल चौथो तहका छन् ।

उद्योगका निमित्त महाप्रबन्धक कोविदकुमार काफ्लेले उद्योगले तिर्नुपर्ने दायित्व भएपनि त्यसबारे कुनै प्रकार निर्णय नभएको बताउनु भयो ।

सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगको समस्या समाधानमा आफूले संसद्मा जोडदार रूपले कुरा उठाएको र सम्बन्धित मन्त्रालयसँग पनि नियमित रूपमा आवश्यक पहल गरिरहेको बताउनुभयो ।

नेपालको संविधान २०७२ ले धारा ३४ मा श्रमको हकलाई मौलिक हक भनि व्यवस्था एवम् व्याख्या गरेको छ । सोही धाराको उपधारा २ मा प्रत्येक श्रमिकलाई पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भनि उल्लेख गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो