मकवानपुरमा पछिल्लो समय बालिकामाथि हुने यौन हिंसाका घटना, विशेषगरी आफ्नै परिवार र चिनजानका व्यक्तिबाट हुने बलात्कार र यौन दुर्व्यवहारका घटनाले बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बनेको देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको बैशाखसम्ममा बलात्कार र बाल यौन दुर्व्यवहारका ४५ वटा घटना दर्ता भएका छन् । तीमध्ये ३४ घटना १८ वर्षमुनिका बालिकासँग सम्बन्धित रहेका छन् भने ११ जना मात्रै वयस्क महिला पीडित रहेका छन् । पीडितमध्ये करिब आधाजसो १२ वर्षमुनिका बालिकाहरू रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार परिवारभित्रै हुने हाडनाता करणीका घटना पनि बढ्दो अवस्थामा छन् । चालु वर्षमा मात्रै सात वटा यस्ता घटना दर्ता भएका छन् । तीमध्ये पाँच घटनामा बाबु वा हजुरबुवाले नै बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । बाँकी घटनामा दाइ र काकाको संलग्नता देखिएको छ । परिवारभित्र पीडित बनेका बालिकाहरूको उमेर ३ देखि ११ वर्षसम्म रहेको प्रहरीले जनाएको छ।
चिनजानका व्यक्तिबाट हुने यौन हिंसाका घटनामा पनि वृद्धि भएको छ । प्रहरीको तथ्याङ्कअनुसार १३ देखि १८ वर्ष उमेर समूहका किशोरीहरू बढी प्रभावित भएका छन् । यस अवधिमा १२ जना किशोरी र तीन जना बालिका चिनजानका व्यक्तिबाट पीडित बनेका छन् । छिमेकीबाट भएका घटनामा अधिकांश १२ वर्षमुनिका बालिका रहेका छन् ।
यसैबीच शिक्षकबाट समेत यौन दुर्व्यवहार भएका घटना सार्वजनिक भएका छन् । प्रहरीका अनुसार एक जना ११ वर्षीया बालिका शिक्षकबाट यौन दुर्व्यवहारमा परेकी छन् भने दुई जना किशोरी बलात्कारको शिकार भएका छन् ।
घटनामा संलग्न ३९ जनालाई गिरफ्तार गरिएको छ भने आठ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले सामाजिक सञ्जाल, मोबाइल र एडल्ट सामग्रीको पहुँचले किशोर तथा युवामा नकारात्मक प्रभाव बढाएको बताउनुभयो । उहाँका अनुसार अभिभावकको निगरानीमा कमी, परिवार विखण्डन र बालबालिकाको एक्लोपनाले पनि यस्ता अपराध बढ्न सहयोग गरेको छ ।