INSEC Online

📅 २०८३ जेष्ठ २१

 पत्रकारमाथि कुटपिट

दर्शन खबर डटकमका सम्पादक ३९ वर्षीय  चिन्तामणि कँडेलमाथि ०८३ जेठ १२ गते कुटपिट भएको छ । वीरेन्द्रनगर–५ स्थित आफ्नै घरअगाडि सडक निर्माणका क्रममा नगरपालिकाका प्राविधिकले दिएको मापदण्ड र लाइन विपरीत निर्माण कार्य भइरहेको विषयमा पत्रकार कँडेलले प्रश्न उठाउँदा निर्माण व्यवसायी वीरेन्द्रनगर नगरपालिका-४ का ३९ वर्षीय सुरज थापाले पत्रकार कँडेलमाथि कुटपिट गरेका हुन् ।

पीडित कँडेलले जेठ १२ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिए । पीडितको जेठ १२ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भयो ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले जेठ १४ गते उक्त कुटपिट, दुर्व्यवहार तथा धम्कीपूर्ण व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका सचिव गोविन्द खत्रीद्वारा जेठ १४ गते जारी प्रेस विज्ञप्ति अनुसार `पत्रकारिता छोड्न बाध्य पारिदिन्छु, तँलाई फसाइदिन्छु, तेरो पत्रकारिता अन्त देखा´ जस्ता अमर्यादित र आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै आफूमाथि कुटपिट गरिएको थियो । घटनामा उनको देब्रे कानको जाली फुटेको चिकित्सकीय रिपोर्ट प्राप्त भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले कुनै पनि विषयमा प्रश्न उठाउनु, सार्वजनिक सरोकारका विषयमा चासो राख्नु तथा अनियमितताप्रति खबरदारी गर्नु आम नागरिकको अधिकार तथा पत्रकारको पेशागत दायित्व भएको उल्लेख गर्दै यस्तो भूमिकामाथि हिंसा, धम्की र दमनको शैली अपनाइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले घटनामा संलग्न व्यक्तिमाथि अविलम्ब निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

 कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो