INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या गरेको आरोपमा थप तीन जना गिरफ्तार

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको ०८२ भदौ ३० गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप तीन जनालाई जेठ १२ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले उच्च अदालत ओखलढुङ्गा, इजलासमा ०८२ चैत २१ गते तीन जनाविरुद्ध किटानी निवेदन दिएपछि प्रहरीले  दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका २८ वर्षीय हेमन परियार, दिप्रुङ्ग गाउँपालिका–५ छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र एक १७ वर्षीय बालकलाई अनुसन्धानका लागि गिरफ्तार गरेको हो । प्रहरीले सोही घटनामा यसअघि १४ वर्षीय बालकलाई गिरफ्तार गरेको थियो ।

बलात्कारपछि हत्या गरेको आरोपमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश बुढाथोकीले बताउनु भयो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका ५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको शव ०८२ भदौ ३० गते राति दिप्रुङ चुइचुम्मा गाउँपालिका(४ बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेको थियो ।

मृतकका पतिले ०८२ भदौ ३० गते पत्नीलाई बलात्कार गरेको हुन सक्ने आशङ्गामा भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले १४ वर्षीय बालकलाई गिरफ्तार गरी जिल्ला अदालतमा ०८२ भदौ ३१ गते जिल्ला कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । अदालतको असोज १ गतेको आदेशले आरोपित बालक पुर्पक्षका लागि थुनामा छन् ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा भदौ ३१ गते गरिएको थियो । सोही दिन पीडितले शव बुझी इटहरी उपमहानगरपालिका ४ स्थित बुढीगङ्गा मुक्तिघाटमा सद्गत गरेको थियो ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो