सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा टोलमा ०८३ वैशाख ४ गते बिहान सुकुम्वासी परिवारमाथि डोजर चलाइएपछि एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ भने ३६ जना बालबालिका, दुई गर्भवती महिला, पाँच सुत्केरी आमा तथा दुई अपाङ्ग बालक प्रभावित भएका छन्।
पीडितहरूका अनुसार वडा नं. ३ का वडा अध्यक्ष रमेश मुखियाको निर्देशनमा बिहान डोजर प्रयोग गरी पाँच सुकुम्बासी परिवारको घर भत्काइएको थियो। घर भत्काइएपछि परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।
घर भत्काइएको दृश्य देखेपछि ८५ वर्षीया रतनी देवी मुखिया अचेत बनेकी थिइन्। त्यसपछि उनको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको र वैशाख ६ गते उपचारका क्रममा जिल्ला अस्पताल राजविराजमा मृत्यु भएको परिवारले जनाएको छ।

पीडित प्रदीप मुखियाका अनुसार घर भत्काएपछि बालबालिका दिनभरि घाममा र राति खुला आकाशमुनि बसिरहेका छन्। जसका कारण बालबालिकामा जरो, रुघाखोकी, चिसोलगायत स्वास्थ्य समस्या देखिन थालेको उनले बताए।
पीडित परिवारले खाद्यान्न, लत्ताकपडा, नागरिकता, जन्मदर्ता, विवाह दर्ता तथा बालबालिकाका किताब–कापीसमेत निकाल्न नदिई घर भत्काइएको आरोप लगाएका छन्।