INSEC Online

📅 २०८३ जेष्ठ २१

सामान्य उपचारका लागि पनि अस्पताल धाउनुपर्ने बाध्यता

अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीले सामान्य स्वास्थ्य जाँच तथा उपचारका लागि समेत जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता रहेको छ । कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि विगत पाँच–छ वर्षदेखि रिक्त रहँदा कैदीबन्दी आधारभूत स्वास्थ्य सेवा कारागारभित्रबाटै पाउन वञ्चित भएका हुन् ।

हाल कारागारमा सामान्य रुघाखोकी, टाउको दुखाइ लगायतका स्वास्थ्य समस्याको उपचारका लागि पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने अवस्था रहेको छ । कैदीबन्दीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न पटक–पटक आवाज उठाइए पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको गुनासो छ । स्वास्थ्यकर्मीको दरबन्दी हुँदाहुँदै पनि पद किन रिक्त रह्यो भन्ने विषयमा समेत चासो र खोजी हुन नसकेको बताइएको छ ।

२५ जना महिला र १ सय २५ जना पुरुषको लागि गरी १ सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ८७ जना कैदीबन्दी रहेका छन् । तीमध्ये ८१ जना पुरुष र ६ जना महिला रहेका छन् । कुल कैदीबन्दीमध्ये ८२ जनाको मुद्दा फैसला भइसकेको छ भने पाँच जना थुनुवाको मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

कारागारमा १ जना महिला र १० जना पुरुष गरी ११ जना ज्येष्ठ नागरिक रहेका छन् । नियमित रूपमा सुगर र प्रेसरको औषधि सेवन गर्ने २५ जना कैदीबन्दी छन् भने एक जनाले डिप्रेसनको औषधि नियमित सेवन गरिरहेको जनाइएको छ । कारागारमा आश्रित बालबालिका भने रहेका छैनन् ।

महिला र पुरुष वार्डमा रहेका थुनुवा तथा बन्दीहरूले आपसी सहमतिमा मेस सञ्चालन गरी सामूहिक रूपमा खाना खाने व्यवस्था मिलाइएको छ । सीप विकास तालिम प्राप्त कैदीबन्दीहरूले मुढा र झोला बुन्ने काम समेत गर्दै आएका छन् ।

कारागारभित्र सरसफाइ, पिउने तथा नुहाउने पानीको व्यवस्था, खेलकुद सामग्री र पुस्तक–पत्रपत्रिका उपलब्ध रहेको कारागारका नाइके गणेश भुसालले जानकारी दिनुभयो ।

कैदीबन्दीलाई स्वास्थ्य समस्या देखिएमा सुरक्षा व्यवस्था मिलाएर नियमित रूपमा जिल्ला अस्पताल लैजाने गरिएको तथा आवश्यकताअनुसार प्रादेशिक र संघीय अस्पतालसम्म उपचारका लागि पठाउने गरिएको कारागार कार्यालयका सहायक रमेश भट्टराईले बताउनुभयो ।

स्वास्थ्यकर्मी अभावका कारण कैदीबन्दीले आधारभूत स्वास्थ्य सेवामा कठिनाइ भोग्नुपरेको भन्दै सरोकारवालाले कारागारमा तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरेका छन् ।

कुल बहादुर नेपाली

अन्य

भिडियो