मल्लादेही गाविसका दलितहरूले उक्त क्षेत्रमा सिनो खान गैर दलितहरूले दबाब दिने गरेको भन्दै दलितहरूको मानव अधिकार अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई असोज २१ गते निवेदनमार्फत अनुरोध गरेका छन् ।
बडादसैँका अवसरमा उक्त क्षेत्रमा रहेको श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा बलि दिने चलन रहेको र गैर दलितहरूले बलि चढाएका राँगाहरूको सिनो दलितहरूले खानुपर्छ भन्ने रूढीबादि दबाब दिने गरेकाले स्थानीय दलित र डिलाशैनि सेवा समितिको तर्फबाट इन्सेकलाई निवेदनमार्फत अनुरोध गरेका हुन् ।
दसैँको टिकाको दिन मेला लाग्ने उक्त मन्दिरमा गैर दलितहरूले राँगा बलि दिने चलन छ । तर, केही वर्षअगाडिदेखि दलितहरूले सिनो खान अस्वीकार गर्दै आएको डिलाशैनि सेवा समितिका सदस्य एवम् स्थानीय दलित अगुवा राजेन्द्र लुहारले बताए ।
‘समिति र हामिले जसले राँगा बलि चढाउँछ उसैले व्यवस्थापन गर्नुपर्छ भन्ने निर्णय गरेकाले सो को अनुगमनका लागि मानव अधिकारको क्षेत्रमा काम गरिरहेको संस्था इन्सेकलाई निवेदन दिएका हौँ ।’-लुहारले बताए ।
दलित अगुवा लुहारले स्थानीय दलित समुदायको नेतृत्व गर्दै बैतडीका इन्सेक प्रतिनिधि नरी बडुलाई निवेदन बुझाएका हुन् ।
इन्सेक प्रतिनिधिलाई निवेदन दिएपछि उनीहरूले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएका छन् ।
‘बलि दिने समयमा जिल्लाका अन्य भगवतीका मन्दिरहरूमा पनि दलितहरूमाथि विभेद हुने भएकाले जिल्लाका अन्य मन्दिरहरूको पनि अनुगमन गरिदिनुहोस ।’-लुहारले इन्सेक प्रतिनिधि नरी बडुलाई भने ।