१०९ औ अन्तर्राष्ट्रिय महिला दिवस प्रदेश ५ का जिल्लाहरूमा विविध कार्यक्रम गरी मनाइएको छ । अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार महिला अधिकार सुनिश्चत गर्ने सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन् ।
सन्धिखर्क नगरपालिका, अन्तरपार्टी महिला सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) लगायत सङ्घ संस्थाहरूको अयोजनामा फागुन २४ गते “समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार” भन्ने मुल नारारका साथ १०९ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त प्रतिवद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समितका प्रमुख पिताम्वर शर्माले राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न नहुने बताए ।
सन्धिखर्क नपाका प्रमुख कमल भुसालले महिलामाथि हुने हिंसा दुव्र्यवहार नियन्त्रण र महिलाहरूको अधिकार सुनिश्चत गर्नको लागि सन्धिखर्क नगरपालिका प्रतिबद्ध भएको बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम थापाले राज्य महिलाका अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताए । महिला हिंसा नियन्त्रण र पीडितलाई न्याय र पीडकलाई कानुनी कारवाही गर्ने दायित्व राज्यको भएको बताए ।
कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार दिवसको पूर्व सन्ध्यामा फागुन २२ गते कपिलवस्तु नगरपालिकाको सहयोग तथा इन्सेक कपिलवस्तु, मानव अधिकार निगरानी समूहलगायत विभिन्न सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको छ ।
नगरपालिकाका समाजिक विकास शाखा प्रमुख प्रकाश गैरेले महिलाहरूमा जागरण नआएसम्म बाटो पुलपुलेसा बनाएर मात्र विकास नहुने भन्दै सामाजिक रूपमा परिवर्तन हुनु पनि विकास भएकोले स्थानीय तहले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका कार्यक्रममा लगानी गरेको बताए ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले अन्तर्राष्ट्रिय नारी दिवको विषयमा आधारपत्र प्रस्तुत गर्दै ८ मार्चलाई विश्वभरका महिलाहरूको हक, हित र अधिकार प्राप्त गरेको दिनको रूपमा मनाइदै आएको जानकारी गराए ।
इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ फागुन २४ गते फलेवास नगरपालिकामा आयोजित १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सरोकारवालाहरूले महिलाहरू समाजको परम्परागत सोचकै कारण माथि उठ्न नसकेको धारणा व्यक्त गरेका छन् ।
फलेवास नगरपालिका महिला बालबालिका शाखा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा फागुन २४ गते सम्पन्न भएको अन्तक्र्रिया तथा पर्वत जिल्लामा महिला अधिकारको अवस्था विषयक कार्यक्रममा बोल्ने वक्ताहरूले महिलाहरू अझै पनि सामाजिक कुरीति र परम्परालाई त्यागेर माथि उठ्न नसकेको बताउँदै महिला अधिकारका निम्ति सबै एकजुट हुन आग्रह गरेका थिए ।
फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले महिलाहरू सक्रिय नभएकै कारण घर परिवार, समाजदेखि राष्ट्रिय स्तर सम्म विभेद खेप्नुपरेको वर्तमान अवस्थालाई औँल्याउँदै आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरू आफै एकजुट हुनुपर्ने बताए ।
उनले पछिल्लो समयमा राज्यले अबलम्बन गरेको नीतिले महिलालाई माग र आवश्यकता अनुरूप अधिकार प्रत्यायोजन गरेको कुरा प्रष्टाउँदै उक्त अधिकार प्राप्तिका लागि महिलाहरू आफै मुलधारमा आउन आग्रह गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख मञ्जु अधिकारीले परम्परागत रूपमा सिकेका कुराहरू अझैपनि ब्यवहारमा लागु भइरहेकाले महिला अधिकार सहज रूपमा कार्यान्वयन हुन नसकेको बताइन् ।
कार्यक्रममा पर्वत इन्सेक प्रतिनिधि सन्तोष थापाले सन् २०१८ मा पर्वत जिल्लामा महिलामाथि हुने सबै खाले भेदभाव, दुव्र्यवहारका घटनासम्बन्धी जानकारी गराउँदै महिला अधिकारका सवालहरूमा भएका कानुनी अधिकारको बारेमा जानकारी दिएका थिए ।
इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगर नगरपालिका, इन्सेक कर्णाली प्रदेश कार्यालय गैरसरकारी संस्था महासङ्घ, किर्डाकलगायतका विभिन्न सङ्घ संस्थाहरूको आयोजनामा ०७५ फागुन २४ गते लैङ्गिक समानताको लागि समान सोच र व्यवहार समृद्धिका आधार भन्ने नाराका साथ वीरेन्द्रनगरमा १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भयो ।
विभिन्न नाराका साथ मङ्गलगढीबाट सुरू भई खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले महिलााहरूको शसक्तिकरणको लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध भई लाग्ने बताए ।
मन्त्री रावलले महिलाहरूलाई आर्थिक, समाजिक र सांस्कृतिक अधिकारबाट पुर्णरूपमा सुसम्पन्न नगराएसम्म महिलाहरूको अधिकार सुनिश्चित गर्न नसकिने उल्लेख गरे ।
कार्यक्रममा कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले महिलाहरूको सबैखाले अधिकार तथा संविधानले प्रत्याभुत गरेको अधिकार प्राप्तिको लागि महिलाहरू एकजुट हुनुपर्नेमा जोड दिइन् ।