INSEC Online

📅 २०८३ जेष्ठ २१

समान काममा समान ज्याला नपाएको श्रमिक महिलाहरूको गुनासो

जिल्लाको बाँफिकोट गाउँपालिका–६ मग्माका विभिन्न योजनामा काम गर्ने कामदारले पाउने ज्यालामा लिङ्गको आधारमा विभेद गरिने गरेको श्रमिक महिलाहरू बताउँछन् ।

जिल्लामा विभिन्न योजनाका साथै घरायसी व्यक्तिगत काममा लगाउँदा पनि महिला र पुरूषमा समान काममा असमान ज्यालाको प्रचलन कायमै रहेको स्थानीय धनसरा सार्कीले बताइन् ।

स्थानीय खानेपानी योजनामा काम गरिरहेकी सार्कीले एउटै काम गर्दा पनि पुरूषहरूले दैनिक ७ सय रूपैयाँ पाउँदा आफूहरूले भने ५ सय रुपियाँ मात्र पाउने गरेको गुनासो गरिन् ।

‘हामीहरू एउटै स्थानमा एकै प्रकारको काम गर्छौँ । तर, ज्याला भने फरक छ ।’–उनले भनिन्–‘महिला पुरूषको समान ज्याला हुनुपर्ने भनेपनि अहिलेसम्म पनि पाइएको छैन ।’

महिला र पुरूषले बराबर काम गरेपनि पाउने पारिश्रमिक कम हुँदा आफूहरूलाई दुःख लाग्ने गरेको बाँफिकोट गाउँपालिका–७ कि सङ्गीता केसीले बताइन् ।

काममा बरू पुरूष श्रमिकहरूले विभिन्न बहानामा ठग्ने गरेको तर महिला श्रमिकले इमान्दार भएर पुरूषभन्दा बढी काम गरेपनि ज्याला भने कम भएकोले आफूहरूलाई अन्यायको महसुस हुने गरेको उनको उनको भनाई छ ।

निर्माण व्यवसायी र उपभोक्ता समितिले भने कार्यक्षमताका आधारमा ज्याला तलमाथि भएको हुनसक्ने बताउँदै आएका छन् । उता स्थानीय तहले पनि समान कामको समान ज्याला हुनुपर्ने नीति बनाएपनि कार्यान्वयन हुन सकेको छैन ।

समाजमा हुने सबैखाले विभेदको मारमा महिला पर्दै आएको र त्यसको अर्को उदाहरण कामको ज्याला पनि भएको बाँफिकोट गाउँपालिका उपाध्यक्ष मनकला पुनले बताइन् । यसको अन्त्यका लागि बनेका कानुनको कार्यान्वयनमा जोड दिनुपर्ने र गाउँपालिकाले त्यसको लागि पहल गर्ने उनको भनाई छ ।

अन्य

भिडियो