INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली प्रहारबाट विप्लव नेतृत्वको नेकपाका एक जना कार्यकर्ता घाइते

शिवराज नगरपालिका–९ सुन्दरीडाँडाका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता ४० वर्षीय दुर्गाबहादुर रोका प्रहरीको गोली प्रहारबाट घाइते भएका छन् ।

प्रहरीले फागुन २३ गते घरमा छापा मार्न खोज्दा भाग्ने क्रममा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोली प्रहारबाट घाइते भएका रोकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको बाँया गोडामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका एसपी अच्युतप्रसाद पुडासैनीले बताए ।

उक्त क्षेत्रमा सो पार्टीका कार्यकर्ताहरू लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले सर्च गर्ने क्रममा हतियार, गोली, विभिन्न किसिममा तार तथा फलामको नटहरू, आधारभुत सैन्य तालिम शिविर २ नं. कम्पनी लेखेको ब्यानर थान १ समेत फेला परेको एसपी पुडासैनीले बताए । उनले अप्रेशनको क्रममा हबल्दार अमल वली र प्रज पुतली चौधरी घाइते भएको बताए ।

यसैबिच सोही ठाँउका ४५ वर्षीय शिक्षक यादव चन्द्रको घरमा प्रहरीले छापा मार्न खोज्दा स्थानीय र बालबालिकाहरू प्रहरी विरूद्ध नारा लगाउँदै विरोध जनाएपछि प्रहरी फर्किएका थिए ।

बालबालिकाहरूले बालमैत्री गाउँ घोषणा भइसक्दा समेत हातहतियार सहित प्रहरी गाउँमा पसेको भन्दै प्रहरीविरूद्ध नाराबाजी गरेका थिए ।

अन्य

भिडियो