मैवाखोला गाउँपालिका–६ ले ज्येष्ठ नागरिक, ६० वर्षमाथिका ज्येष्ठ दलित, ज्येष्ठ एकल महिला, विधवा, पूर्ण र आंशिक ‘ख’ वर्गका अपाङ्ग नागरिक र दलित बालबालिकालाई शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
मैवाखोला गाउँपालिका–६ ले फाकुम्बामा ०८३ वैशाख २४ गते एकीकृत घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता पाएपछि मैवाखोला गाउँपालिका–६ फाकुम्बाका ज्येष्ठ नागरिकलगायत हर्षित भएका छन् ।
फाकुम्बास्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा घुम्ती शिविरमा ७८ जना ज्येष्ठ नागरिकले भत्ता रकम बुझेका छन् ।
घर आँगनमै घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम पाएपछि लाभग्राही खुसी भएका हुन । भत्ता रकमका लागि बैँक र कुनैबेला वडा कार्यालय धाउनुपर्ने अवस्था रहेकोमा यसपटक घर आँगनमै रकम पाएपछि सबैभन्दा बढी वृद्धवृद्धा खुसीसँग भएका छन् ।
गाउँपालिकाद्वारा एकीकृत घुम्ती शिविर आयोजना गरिएकाले शिविरबाट भत्ता रकम वितरण गरिएको मैवाखोला गाउँपालिकाका पञ्जीकरण शाखाका प्रमुख तमकुमार लिम्बूले बताउनु भयो ।
गाउँपालिकाको केन्द्रस्थित साँघुमा रहेको लक्ष्मी सनराइज बैँकसँग समन्वय गरेर शिविरमार्फत भत्ता रकम वितरण गरिएको लिम्बूले बताउनु भयो ।
फाकुम्बाका वडासचिव साङ्गबहादुर शेर्पाले वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १ सय २० जनाभन्दा बढी लाभग्राही रहेकोमा शिविरमा आएका ७८ जनालाई भत्ता वितरण गरिएको बताउनु भयो । ज्येष्ठ नागरिक, ६० वर्षमाथिका ज्येष्ठ दलित, ज्येष्ठ एकल महिला, विधवा, पूर्ण र आंशिक ‘ख’ वर्गका अपाङ्ग नागरिक र दलित बालबालिकालाई भत्ता रकम वितरण गरिएको वडासचिव शेर्पाले बताउनु भयो ।
गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा पञ्जीकरणसहित विभिन्न १३ ओटा शाखाबाट प्रदान हुने सेवाहरू प्रवाह गरिएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताउनु भयो । गाउँपालिकाका ६ ओटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने योजना अनुसार वैशाख २३ गते तेस्रो दिनको घुम्ती शिविर आयोजना गरिएको थियो । यसअघि वडा नम्बर १ र २ ढुङ्गेसाँघुमा शिविर सम्पन्न गरिएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले ज्येष्ठ नागरिकलाई जनतालाई घर आँगनबाटै सेवा प्रवाह गर्ने उद्देश्य राखेर एकीकृत घुम्ती शिविर आयोजना गरिएको बताउनु भएको छ ।