खाँडादेवी गाउँपालिका–६ स्थीत स्वास्थ्य चौकीमा प्रसूति सेवा छैन । खाँडादेवीको स्वास्थ्य चौकी माकादुममा प्रसूति सेवा नहुँदा सुत्केरी हुने महिलाहरूलाई समस्या भएको छ ।
गाउँमा प्रसूति सेवा नहुँदा स्थानीय महिलाहरू सुत्केरी हुन दुई घण्टा टाढाको कच्चि सडकबाट सदरमुकाम मन्थली पुग्नु पर्ने बाध्यता रहेको वडा सदस्य रघुमाया कार्कीले बताइन् ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य ऐन २०७५ को परिच्छेद ३ ले प्रत्यक गर्भवती महिलालाई स्वास्थ्य संस्थामा गई गर्भजाँच तथा सुत्केरी हुने अधिकार प्रदान गरेको भए पनि माकादुमका महिलाहरू भने सो सेवाबाट वञ्चित रहेको उनले बताइन् ।
स्वास्थ्य चौकीमा भौतिक पूर्वाधारको अभावकै कारण चौबिस घण्टे प्रसूति सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य चौकीका इञ्चार्ज नरेश राउतले बताए ।
‘अहिले स्वास्थ्य चौकी ढुँगामाटोको साँघुरो घरमा छ । यहाँ प्रसूति सेवा दिने ठाउँ नै नभएकोले सेवा दिन सकिएको छैन ।’–राउतले भने ।
स्वास्थ्य चौकीबाट सेवा दिन नसकेपछि कतिपय अवस्थामा स्वास्थ्यकर्मीले घरमै गएर सेवा दिने गरेको उनले बताए ।
खाँडादेवी गाउँपालिका–६ का वडा अध्यक्ष पुष्कर कार्कीले गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य चौकीले प्रसूति सेवा सञ्चालन गर्न नसक्नु दुःखद् भएको भन्दै यसैलाई ध्यानमा राखी तत्काल सेवा सञ्चालनको लागि तयारी गरिरहेको उनले बताए ।
कार्कीले भने–‘हामी वैकल्पिक व्यवस्था गरेर भए पनि चाँडै प्रसूति सेवा सञ्चालनमा ल्याउने छौँ ।’ उनले स्वास्थ्य संस्थामा लगेर सुत्केर गराउनु पर्ने अवस्था आएमा त्यस्ता महिलालाई सदरमुकाम पु¥याउनुको विकल्प नभएको बताए ।