शिवनाथ गाउँपालिका–१ का नागरिकहरूले वडाबाट प्रवाह गरिने सेवा सुविधा पाउनका लागि छिमेकी वडामा जाने बाध्यताका कारण समस्या भएको गुनासो गरेका छन् ।
स्थानीय नागरिकहरूले अहिले वडा सचिव नहुँदा छिमेकी वडामा गएर काम गर्नुपर्ने बाध्यता छ । वडा कार्यालयमा सचिव नहुँदा उनीहरूले छिमेकी २ नम्बर वडामा जानुपर्ने बाध्यता भएको हो । हाल एक जना प्राविधिकले शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ को जिम्मा लिएका छन् ।
२ नम्बर वडाबाट १ नम्बर वडामा जान अढाई घण्टा लाग्ने र सवारी साधन पनि नभएकाले १ नम्बर वडा कार्यालयमा सोचे अनुसारको सेवा दिन नसकिएको प्राविधिक हरिसिंह विष्टले बताए ।
‘दुवै वडाका नागरिकहरूलाई बराबर सेवा दिउँ भनेर त सोच्छु । तर, उक्त वडाहरूको दुरी टाढा छ जान आउनै मुस्किल छ त्यसैले समस्या भयो ।’–उनले भने ।
स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुग्नै लाग्दा समेत आफूहरूले वडाबाट प्रवाह हुने सेवा सुविधा नपाएको स्थानीय दिपेन्द्र चाँडको भनाई छ ।
‘आफ्ने वडाबाट प्रवाह गरिने सेवा सुविधा पाउन पनि छिमेकी वडामा जानुपर्ने बाध्यता छ ।’–स्थानीय जयन्त साउदले भने ।
वडामा सचिवका लागि पटकपटक गाउँपालिकासँग आग्रह गर्दा समेत समस्या समाधान नभएको वडा अध्यक्ष करनराम पार्कीको बताए ।
६ ओटा वडा रहेको शिवनाथ गाउँपालिकामा हाल एउटा पनि सचिव नभएको र यसबारेमा पटकपटक केन्द्रीय सरकारसँग आग्रह गर्दासमेत समस्याको समाधान नभएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए ।