बालिका बलात्कारका दुई मुद्दामा कसुरदार ठहरिएका दुई जनालाई जनही १८ वर्ष कैद र ७ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालत, धादिङ्ले फैसला गरेको छ ।
१३ वर्षीया बालिकालाई ०८१ फागुन १६ गते बलात्कार गरेको आरोपमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–११ का २४ वर्षीय कमान सिंह पुलामी विरुद्ध इलाका प्रहरी कार्यालय, गजुरीमा पीडित पक्षले ०८१ फागुन १९ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले फागुन २० गते गिरफ्तार गरेको थियो। आरोपित पुलामीलाई जिल्ला अदालतका न्यायाधीश मनकुमारी जिएम् वि.कको इजलासले ०८३ वैशाख ९ गते बलात्कार मुद्दामा सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले बताउनुभयो।
कसुरदार पुलामीलाई १८ वर्ष कैद गरी पीडितलाई ७ लाख रुपियाँ क्षतिपूर्ति दिने र पीडित राहतकोषमा २८ हजार रुपियाँ जरिवाना स्वरुप जम्मा गर्न फैसला गरिएको छ । कसुरदार ०८१ चैत १० गतेदेखि जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
यसैगरी जिल्ला अदालतका न्यायाधिस मनकुमारी जि.एम् वि.कको ०८३ वैशाख ८ गतेको इजलासले बेनिघाटरोराङ गाउँपालिका–३ का ३२ वर्षीय जगतबहादुर कोइरालालाई १८ वर्ष कैद गरी पीडितलाई ७ लाख रुपियाँ क्षतिपूर्ति दिने र पीडित राहतकोषमा २८ हजार रुपियाँ जरिवाना स्वरुप जम्मा गर्न फैसला गरिएको श्रेस्तेदार लुइटेलले बताउनुभयो ।
कसुरदार कोइरालाले १४ वर्षीया बालिकालाई ०८१ चैत १६ गते बलात्कार गरेकोमा पीडित पक्षले कसुरदार विरुद्ध ०८२ असोज २३ गते प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।