ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनामा संलग्न रहेको कसुरमा तीन जनालाई जनही १० वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
न्यायाधीश धनसिंह महराको इजलासले फागुन १७ गते सामूहिक बलात्कारको घटनामा संलग्न रहेको कसुरमा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही १० वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।
गोदावरी नगरपालिका-१ गोदामचौरमा ०७४ मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी २१ वर्षीया महिलाको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको होे । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरूबाट पीडितलाई जनही १-१ लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ ।
पीडित महिलालाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा फेला पारिएको थियो । पीडित महिलाले घटनाअघि नै आरोपितहरूको अनुहार चिनेको हुँदा तीनै जनाविरुद्ध किटानी उजुरी दिएकी थिइन् ।