कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ ।
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको विरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतवानी दिएका छन् । सुरक्षाको प्रत्याभूति माग गर्दै उनीहरूले आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतवानी दिएका हुन् ।
अस्पताल परिसरमा हातहतियारसहित मदिरा सेवन गरी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र धम्की दिएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति माग गरेका छन् ।
०८३ वैशाख ९ गते बिहान सामाजिक अभियन्ता बताउने उपेन्द्र बुढ्थापासहित केही व्यक्ति प्रतिष्ठानभित्र प्रवेश गरी कर्मचारीलाई गालीगलौज र धम्की दिई शैक्षिक भवनको प्राङ्गणमा रहेको चमेना गृहमा प्रवेश गरी कर्मचारीलाई अभद्र व्यवहार गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकले उपकुलपतिलाई बुझाएको निवेदनमा भनिएको छ, ‘बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङ्गणमा बिहानको करिब ९:४५ बजेको समयमा सामाजिक अभियन्ताका नाममा केही व्यक्ति प्रतिष्ठानको विभिन्न विभागमा गई कर्मचारीलाई गालीगलौज र धाक धम्की दिनुका साथै शैक्षिक भवनको प्राङ्गणमा रहेको चमेना गृहमा प्रवेश गरी त्यहाँ रहेका कर्मचारीलाई अभद्र व्यवहार गरिएको छ ।’
सो घटनापछि दिउँसो करिब ३:५० बजेतिर पुनः ती व्यक्ति अस्पताल परिसरभित्र प्रवेश गरी ड्युटीमा रहेका कर्मचारीहरूलाई धम्की दिने, आक्रामक व्यवहार देखाउने तथा त्रास फैलाउने प्रयास गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
उनीहरूले अस्पताल परिसरभित्र कार्यरत कर्मचारी तथा चिकित्सकको सुरक्षाको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने भन्दै घटनामा संलग्न व्यक्तिमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन् ।