सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विक ०८३ वैशाख ७ गते खुर्कोट प्रहरी चौकीको हिरासतको थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएको अवटस्थामा फेला परेका छन् । प्रहरीले विकको तत्काल उद्धार गरी सुनकोसी सामुदायिक अस्पताल हुँदै सिन्धुली अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
काठमाडौंमा सवारी चालकका रूपमा कार्यरत विकले १७ वर्षीया बालिकासँग चैत २८ गते प्रेम विवाह गरेका थिए । युवती नाबालिका रहेको भन्दै उनका परिवारले बलात्कार भएको भन्दै सातदोबाटो प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले बालिकालाई आफन्तको जिम्मा लगाई घर पठायो भने विकलाई काठमाडौंबाट गिरफ्तार गरी वैशाख ३ गते थप अनुसन्धानका लागि खुर्कोट ल्याइएको थियो । घटनाबारे जानकारी पाएलगत्तै परिवारजन अस्पताल पुगेका थिए । शव हाल सिन्धुली अस्पतालमा राखिएको छ । मृतकका आफन्त घटनामा प्रहरीको गम्भीर लापरबाही भएको भन्दै इलाका प्रहरी कार्यालय खुर्कोट पुगेका छन् । अन्तरजातीय विवाहकै कारण झुटा उजुरी दर्ता भएको दाबी गर्दै उनीहरूले घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन् ।