अपाङ्गता भएका दुई जनालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
बौद्धिक अपाङ्गता भएका सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै आमाको कोखबाट जन्मिएका १९ वर्षीय देउकुमार राई र १७ वर्षीय मेहरमान राईलाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र जारी गरिएको हो ।
नेपाली नागरिकता संशोधन विधेयक २०६३ को व्यवस्था अनुसार आमाको नामबाट जिल्ला प्रशासन कार्यालयले दुई जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
चालू आर्थिक वर्षमा पहिलो पटक आमाको नामबाट एकै कोखबाट जन्म लिएका दुई जना दाजुभाइलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै आमाको कोखबाट जन्मिएका १९ वर्षीय देउकुमार राई र १७ वर्षीय मेहरमान राईलाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले बताउनु भयो ।
बाबुको पहिचान नभएका राई दाजुभाइको नागरिकता आमा भोटेनी राईको नामबाट जारी भएको जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटकी नायब सुब्बा दुर्गादेवी पौडेलले बताउनु भयो ।
आमा बोलाइसम्बन्धी अपाङ्गता भएको र सोही कारणले आमाले स्पष्ट विवरण दिन नसक्दा बाबुको पहिचान हुन नसकेको सुब्बा दुर्गादेवी पौडेलले बताउनु भयो ।
बाबुको पहिचान नभएपछि आमाको नाम र थरबाट प्रशासन कार्यालयले दुई छोराको नागरिकता जारी गरिदिएको नासु पौडेलले बताउनु भयो ।
नागरिकता ऐनमा बाबुको नाम खुलाउन नसकेको भनी आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको भनी वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराइले बताउनु भयो ।
सिरिजङ्घा गाउँपालिका–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङले बाबु पहिचान नभएको एउटै आमाको कोखबाट जन्मिएका दाजुभाइले लामो प्रयासपछि आमाको नामबाट नागरिकता प्राप्त गरेको बताउनु भयो ।
आमाको नामबाट नागरिकता प्राप्त गरेका दाजुभाइमा बौद्धिक अपाङ्गता रहेको वडाध्यक्ष गुरूङले बताउनु भयो ।
नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ ।
धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।