हुम्लामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण सम्बन्धी अभियान प्रभावित भएको छ । पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिने यस महत्वपूर्ण अभियानमा औषधि आपूर्तिमा भएको ढिलाइका कारण सेवा प्रवाह अवरुद्ध भएको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरबीर शाहीले जानकारी दिनुभयो ।
जिल्लाभर सञ्चालन भइरहेको अभियानका क्रममा आवश्यक भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि समयमै उपलब्ध नहुँदा बालबालिकाले पाउनुपर्ने आधारभूत पोषण तथा स्वास्थ्य सेवा प्रभावित भएको छ । विशेषगरी दुर्गम बस्तीहरूमा औषधि नपुग्दा समस्या झन् गम्भीर बनेको छ । यसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने जोखिम बढाएको संयोजक शाहीले बताउनु भयो । दुर्गम भौगोलिक अवस्था, ढुवानी चुनौती र व्यवस्थापन कमजोरीलाई समस्या देखाइए पनि यस्तो अवस्था बारम्बार दोहोरिनु नीतिगत सुधारको अभाव भएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताए। उनका अनुसार अभियानको मिति तय भइसकेपछि पनि औषधि अन्तिम समयमा मात्र पुग्नुले पूर्वतयारी र समन्वयमा गम्भीर कमजोरी देखाएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार कर्णाली प्रदेश आपूर्ति केन्द्रबाट औषधि ढिलाइ भएपछि समस्या उत्पन्न भएको हो ।
राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत वैशाख ६ र ७ गते देशभर एकैसाथ सञ्चालन हुने अभियानका लागि कम्तीमा एक साताअघि नै सम्बन्धित स्वास्थ्य संस्थामा औषधि पुगिसक्नुपर्ने व्यवस्था भए पनि यस वर्ष वैशाख ४ गते मात्र औषधि उपलब्ध गराइएको उनले बताउनु भयो । ‘समयमै आपूर्ति नहुँदा सबै स्वास्थ्य संस्थामा औषधि पुर्याउन कठिन भयो, जसका कारण अभियान प्रभावित भयो,’चिकित्सक तिवारीले भन्नुभयो ।
उहाँका अनुसार सबै स्वास्थ्य संस्थामा औषधि आपूर्ति र ढुवानी कार्य सम्पन्न भएपछि मात्र जिल्लामा पुनः अभियान सञ्चालन गरिनेछ ।
स्थानीयवासीले यस्ता अत्यावश्यक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नुले बालबालिकाको आधारभूत स्वास्थ्य र पोषणमा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल सुधारको माग गरेका छन् । पाँच वर्षमुनिका बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील कार्यक्रममा समेत समयमै औषधि पुग्न नसक्नु सार्वजनिक स्वास्थ्य आपूर्ति प्रणालीको गम्भीर कमजोरीको संकेत भएको सरोकारवालाहरूको भनाइ छ ।