बलात्कार घटनाका पीडितलाई धम्की दिएर जबरजस्ती मिलापत्र गराउन खोजेको आरोपमा प्रहरीले जुगल गाँउपालिका—२ लिदिका ३२ वर्षीय नेत्र दोङ, सोही ठाँउका ५२ वर्षीय नेमाघिसिङ दोङ, ४८ वर्षीय माइला दोङ, २४ वर्षीय सुशील दोङ, ४२ वर्षिय निकमार दोङ र ३१ वर्षीय विशाल दोङलाई ०८३ बैशाख १ गते स्याउलेबाट गिरफ्तार गरेको छ । आरोपितहरुले बलात्कार घटनाका आरोपितसँग रकम लिएपछि पीडितलाई धम्की दिएर जबरजस्ती मुद्दा फिर्ता गराउन प्रयास गरेको आरोप छ । गिरफ्तार गरिएकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२७ (क) अनुसारको अपराध गरिरहेको अवस्थामा घटनास्थलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार दिनेश गोलेले बताउनुभयो । आरोपितहरुलाई मिलापत्र गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धानको लागि हिरासतमा राखेको हवल्दार गोलेले बताउनुभयो ।
४४ वर्षीया महिलालाई ०८२ फागुन १० गते बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाँउपालिका–२ का ४७ वर्षीय श्रीकाजी दोङलाई चैत २० गते गिरफ्तार गरेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेबजार स्थित एक घरमा पीडितलाई बन्धक बनाई धम्की दिनुका साथै मुद्दा फिर्ता गर्न प्रलोभन समेत देखाई ०८३ वैशाख १ गते मिलापत्र गराउने प्रयास गरेको पीडितको भनाइ छ । पीडितका आफन्तले मिलापत्र हुन लागेको सूचना प्रहरीलाई दिएपछि मिलापत्र गराउन प्रयास भएको स्थानबाटै उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।