नवयुवा पुस्ताको प्रर्दशनका क्रममा क्षेत्रीय कारागार,झुम्काबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
चोरी मुद्दाको सजाय भुक्तानका लागि झुम्का कारागारमा रहेका क्रममा फरार भएका सुनसरीको इटहरी उपमहानगरपालिका–२ का छोटु भनिने अभिषेक जैसवाललाई प्रहरीले चैत २९ गते विराटनगरबाट गिरफ्तार गरेको हो ।
जिल्ला अदालत सुनसरीबाट ५ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाइएका जैसवाललाई विराटनगरबाट गिरफ्तार गरिएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताउनुभयो । जैसवाल झुम्का कारागारमा कैद भुक्तान गरिरहेका बेला भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए । उनलाई विराटनगर महानगरपालिका–८ हाटखोलामा फेला पारेर गिरफ्तार गरिएको लामिछानेले बताउनुभयो । गिरफ्तार गरिएका जैसवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय भुक्तानका लागि सुनसरीस्थित झुम्का कारागार कार्यालय पठाइएकोे छ ।