टिकापुर नगरपालिकामा बजेट अभावको कारण एचआइभी सङक्रमितहरु पोषण सहयोग पाउनबाट वञ्चित हुनुपरेको छ । एचआइभी सङ्क्रमितहरुका लागि व्यवस्था गरिएको ७ लाख ५० हजार रुपियाँ बजेटलाई घटाएर ३ लाख रुपियाँमा झारेपछि एचआइभी सङक्रमितहरुलाई पोषण सहयोगमा समस्या भएको हो ।
आर्थिक वर्ष ०८०/८१ मा टिकापुर नगरपालिकाले ७ लाख ५० हजार बजेट विनियोजन गरेर १ सय २५ जनालाई वार्षीक ६ हजारको दरले पोषण सहयोग प्रर्दन गर्दै आएकोमा उक्त बजेट घटाएर ३ लाख मात्रै बिनियोजित गरेपछि एचआइभी सङ्क्रमितहरुलाई पोषणको समस्या भएको सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशिल नवजिवन एकता समाजका अध्यक्ष जगत भण्डारीले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘आर्थिक रुपमा विपन्न भएका परिवारका सदस्य नै बढी सङ्क्रमित हुनुहुन्छ । पति गुमाएका सङक्रमित एकल महिलाहरुलाई परिवारको गुजारा, बालबालिकाहरुको पालनपोषण गर्नु पर्ने बाध्यता छ । सङ्क्रमित व्यक्तिहरुले नियमित औषधी सेवन गर्नु पर्ने भएकाले शरीर स्वास्थ राख्न तथा प्रतिरोधात्मक क्षमता बढाउनका लागि अतिरिक्त पोषणको आवश्यकता पर्छ । सरकारले सङ्क्रमितहरुको षोषणका लागि प्रयाप्त बजेटको व्यवस्था गर्नु पर्छ ।’
टिकापुर नगरपालिकाले कार्यविधि बनाएर विगत वर्षदेखि एचआइभी सङ्क्रमितहरुलाई पोषण सहयोग गर्दै आइरहेको भए पनि चालु आर्थिक वर्षमा स्रोत आभावका कारण बजेट घटेर आएको र आगामी वर्षमा पुनः बजेटको व्यवस्थापन गरिने टिकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नागार्जीले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘सङ्क्रमितहरुको स्वास्थ्य उपचार र पोषण पहिलो प्राथमिकता भए पनि अन्य समस्या पनि धेरै छन् । स्थानीय तहले चालु आर्थिक वर्षमा गर्न नसकिएको काम आगामी आर्थिक वर्षमा बजेट सुनिश्चत गरेर गर्छ ।’
टिकापुर नगरपालिकामा १८ वर्ष मुनिका ७० जना सङ्क्रमित बालबालिका र १ सय २५ जना औषधी पोषण सहयोग लिइरहेका सक्रमितहरु छन् । ४० जनाले सामाजिक लाञ्छना र समाजमा सम्मनजनक व्यवहार नहुनेभएकोले ४० जना थप सङ्क्रमित व्यक्तिहरु खुलेर आउन सकेको सङक्रमितको अधिकारका क्षेत्रमा क्रियाशिल नवजिवन एकता समाजका अध्यक्ष भण्डारीले बताउनु भयो ।