बलात्कारपछि हत्या गरिएको भनिएकी गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको शवको २७ दिनपछि चैत १९ गते परिवारजनले भेरी नदिमा सद्गत गरेका छन् । फागुन २३ गते बिहान ६ बजे नै प्रयोगात्मक कक्षामा जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे बालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका थिए । उनले आफुले अन्य साथीहरुलाई सहयोगका लागि बोलाएको बयानमा भनेका थिए । त्यस्तै १४, १५ र १६ वर्षीय तीन बालकलाई २४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । फागुन २४ गते आरोपितहरु विरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
प्रहरीले चैत ११ गते घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले चैत १५ गते जिल्ला अदालतमा अभियोग पत्र दायर गर्यो । जिल्ला अदालत सुर्खेतका न्यायाधीस दीपक ढकालको चैत १७ गतेको इजलासले आरोपित चारै जना बालकहरुलाई बाल सुधार गृह पठाउने आदेश दियो ।
घटनाको सत्य, तथ्य र निष्पक्ष छानविनको माग गर्दै परिवारजनले शव बुझेका थिएनन् । शवको पोष्टमार्टम फागुन २५ गते प्रदेश अस्पताल सुर्खेतमा भएको थियो ।