१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका–६ स्थायी घरभई बुटवल उपमहानपा–११ देवीनगर बस्ने १८ वर्षीय मिलन बि.क.लाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश इन्द्र बहादुर कठायतको चैत १० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ६ महिना कैद, १० हजार रुपियाँ जरिबाना, १ लाख रुपियाँ क्षतिपूर्ति बापतको रकम पीडितलाई भराई दिने र ८ हजार रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८१ फागुन १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई फागुन १५ गते घरबाटै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते भिम अस्पताल भैरहवामा गरिएको थियो ।