बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनामा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गराएको छ । चैत १५ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दर्ता गराएको हो ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । फागुन २३ गते बिहान ६ बजे नै प्रयोगात्मक कक्षामा जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय बालकलाई गिरफ्तार गरेको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका छन् ।
२४ दिनसम्म उठेन शव, न्याय माग्दै धर्ना
इनिसाको शव २३ दिनसम्म पनि उठ्न सकेको छैन । उक्त घटनामा निष्पक्ष छानबिनको माग गर्दै आफन्त र अधिकारकर्मीहरुले चैत १५ गते जिल्ला अदालत अगाडि धर्ना दिएका छन्। धर्नामा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले अनुसन्धानप्रति अविश्वास जनाउँदै निष्पक्ष र पारदर्शी प्रक्रिया अघि बढाउन दबाब दिएका छन्।
इनिसाको मृत्यु हुनुमा परिवारले सुरुदेखिनै शंका व्यक्त गर्दै आएको छ। पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै घरपरिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन्। इनिसाको शव अझै प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।
पीडित परिवारले पोस्टमार्टम रिपोर्टप्रति नै असन्तुष्टि जनाएको छ । ‘मलाई सुरुबाटै शंका लागेको छ, छोरीलाई त्यस्तो अवस्थामा फेला पारेको मलाई पोस्टमार्टम रिपोर्टप्रति शंका छ,’ इनिसाकी आमा तिलाले भन्नुभयो, ‘यो रिपोर्ट मात्र होइन, अरू रिपोर्ट पनि यस्तै आयो भने हामी आन्दोलनमा उत्रिन्छौं ।’
छोरीको मृत्युको खबरपछि नेपाल आएका बुबा ईन्द्रबहादुरले कम्पनीबाट पाएको बिदा सकिन थालेको बताउनु भयो । ‘छोरीको मृत्यु भएको २३ दिन भइसक्यो,’ उहाँले भन्नुभयो, ‘छोरीले न्याय पाउनेमा शंका हुन थालेको छ ।’
प्रहरीले अहिलेसम्म घटनाका बारेमा खुलेर जानकारी नगराएको परिवारको भनाइ छ । ‘घटना झनै रहस्यमय बन्दै जाने हो कि जस्तो लागेको छ,’ ईन्द्रबहादुरले भन्नुभयो, ‘रिपोर्ट पनि सामान्य देखाएका छन्, के–के विषयमा अनुसन्धान गरिएको हो, अत्तोपत्तो छैन । छोरीले न्याय पाउँदिन कि भन्ने लाग्न थालेको छ ।’ घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरिसकेको छ ।