कनकासुन्दरी गाउँपालिका–२ स्थित मालिकाबोटा स्वास्थ्य चौकीमा पछिल्लो दुई महिनादेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । विशेषगरी एन्टिबायोटिक औषधि एमोक्सिसिलिन र सिप्रोफ्लोक्सासिन जस्ता औषधि नहुँदा बिरामीहरू प्रभावित भएका छन् ।
स्वास्थ्य चौकीका इन्चार्ज रतन हमालका अनुसार स्वास्थ्य चौकीमा कानुनी रूपमा ९२ प्रकारका औषधि उपलब्ध हुनुपर्ने भए पनि हाल १३–१४ प्रकारका औषधि लामो समयदेखि अभावमा छन् ।
‘एन्टिबायोटिक औषधि अत्यावश्यक हुन्छन्, तर त्यही औषधि दुई महिनादेखि छैन,’ उहाँले भन्नुभयो, ‘गाउँपालिकामा माग फाराम पठाएका छौँ, तर अहिलेसम्म आपूर्ति भएको छैन ।’
उक्त स्वास्थ्यचौकीमा दैनिक १०–१५ जना बिरामी उपचारका लागि आउने गरेका छन् । चिसो मौसमका कारण दमका बिरामीको संख्या बढी हुने गरेको इन्चार्ज हमालले जानकारी दिनुभयो । आवश्यक औषधि नहुँदा उपचारमा समस्या भइरहेको उहाँले बताउनु भयो ।
कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक वीरेन्द्र उपाध्यायका अनुसार सात लाख रुपियाँ बराबरको औषधि खरिद गरी पालिकाको स्टोरमा आइपुगेको छ । आवश्यकताको आधारमा ती औषधि स्वास्थ्य चौकीहरूमा वितरण गरिने उहाँले बताउनु भयो ।
‘चालु आर्थिक वर्षको पहिलो चौमासिकमै औषधि खरिद हुनुपर्ने थियो, तर विभिन्न कारणले ढिलाइ भएको हो,’उहाँले भन्नुभयो ।
त्यस्तै गाउँ नजिकै सञ्चालनमा रहेको प्रसुति गृहका कारण गर्भवती तथा सुत्केरी महिलालाई भने केही सहज भएको छ । नियमित जाँच र प्रसुति सेवा सहज रूपमा लिन पाइएको छ ।
गत आर्थिक वर्षमा १९ जना र चालु आर्थिक वर्षको चैत १ गतेसम्म १३ जना महिलाले उक्त प्रसुति गृहमा सुत्केरी सेवा लिएका छन् । स्वास्थ्य चौकीले नियमित गर्भ जाँच गर्ने महिलालाई प्रति व्यक्ति ८ सय रुपियाँ र यातायात प्रोत्साहन स्वरूप तीन हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ । साथै प्रदेश सरकारले दिने प्रति सुत्केरी महिला दुई हजार रुपैयाँ पनि आर्थिक वर्षको अन्तिम चौमासिकमा वितरण गर्ने तयारी गरिएको हमालले बताउनु भयो ।