पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ०८२ चैत १४ गते प्रहरीले गिरफ्तार गरेको विरोधमा एमाले पार्टी कार्यालय च्यासलमा समाचार संकलनका क्रममा पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार भएको छ ।
एमाले पार्टी कार्यालय च्यासलमा समाचार संकलनका क्रममा गएका नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए। त्यसैगरी कान्तिपुर दैनिकका पत्रकार दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौलामाथि फोटो खिच्न खोज्दा गालीगलौजसहित दुर्व्यवहार गरिएको थियो ।
प्रदर्शनको समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले चैत १४ गते एक प्रेश विज्ञप्ती जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले घटनामा संलग्न व्यक्तिहरूमाथि सम्बन्धित राजनीतिक दलले अनुशासनात्मक कारबाही गर्नुपर्ने र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।