मकवानपुरको दुर्गम क्षेत्रका चेपाङ समुदायका ज्येष्ठ नागरिकहरु नागरिकता नभएकै कारण राज्यले दिने सामाजिक सुरक्षा भत्ता बाट बञ्चित भएका छन् ।
कैलाश गाउँपालिका–७ की ७१ वर्षीया फूलमाया चेपाङ यस समस्याको प्रतिनिधि पात्र हुनुहुन्छ । सात सन्तानकी आमा र २३ नातिनातिनाकी हजुरआमा बनिसक्दा समेत उहाँले नागरिकता प्राप्त गर्नु भएको छैन । नागरिकता बनाउनका लागि वडा कार्यालयमा पटक–पटक धाउँदा पनि आवश्यक कागजात अभावका कारण सिफारिस पाउन नसकेको पीडित फुलमायाले बताउनु भयो ।
पीडितका पति सोमलालको चार वर्षअघि नै मृत्यु भइसकेको छ । माइतीतर्फका आफन्त नभएकाले नागरिकता बनाउन आवश्यक प्रमाण जुटाउन झनै कठिन भएको उहाँले बताउनु भयो । “नागरिकता भइदिएको भए त वृद्धभत्ता खान पाइन्थ्यो,” भन्दै इन्सेक प्रतिनिधिसँग फूलमायाले दुखेको सुनाउनु भयो ।
मकवानपुर जिल्लाका कैलाश र राक्सिराङ गाउँपालिकाको दुर्गम बस्तीमा करिब ३० प्रतिशत चेपाङ समुदाय अझै नागरिकताविहीन रहेको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । विशेषगरी ५० वर्षभन्दा माथिका नागरिकमा यस्तो समस्या बढी देखिएको छ ।
नागरिकता नहुँदा उनीहरू सामाजिक सुरक्षा भत्तासँगै अन्य सरकारी सेवा–सुविधाबाट समेत टाढा छन् । आर्थिक रूपमा कमजोर चेपाङ समुदायका लागि यो अवस्था झन् चुनौतीपूर्ण बनेको छ ।
स्थानीय तहले नागरिकता वितरण सहज बनाउन घुम्ती शिविर सञ्चालन गर्न जिल्ला प्रशासनसँग माग गरिरहेका छन् । साथै, चेपाङ समुदायमा अशिक्षा, गरिबी र लालपुर्जा अभावजस्ता समस्या पनि गम्भीर रूपमा रहेको बताइएको छ ।
२०७८ को जनगणना अनुसार देशभर करिब ८४ हजारभन्दा बढी चेपाङ समुदाय बसोबास गर्छन्, जसमा ठूलो हिस्सा मकवानपुर र चितवन जिल्लामा केन्द्रित छ । नागरिकता अभावको समस्या समाधान नगरेसम्म उनीहरूको जीवनस्तर सुधारमा चुनौती कायमै रहने देखिन्छ ।