सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि वर्सेनी बैङ्क खाता नविकरण गर्नुपर्छ भन्ने पूर्ण सूचना नहुँदा ज्येष्ठ नागरिक तथा लक्षित समुदाय भत्ता पाउनबाटै वञ्चित भएका छन् ।
गएको चौमासिकमा इलाम नगरपालिकामा मात्र सामाजिक सुरक्षा भत्ताका लागि आएको १५ लाख रुपियाँ खर्च नभएको पाइएको नगरपालिकास्थित न्यायिक समिति संयोजक तथा नगरपालिका उप–प्रमुख सुशीला नेम्वाङले बताइन् ।
गएको चौमासिक अर्थात चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा ३ हजार ५ सय ६० जनालाई आएको २ करोड १८ लाख ९७ हजार ४ सय रुपियाँमा २ करोड ३ लाख ४६ हजार रुपियाँमात्र खर्च भएको नेम्वाङले जानकारी दिइन् ।
ज्येष्ठ नागरिक, लोपोन्मुख, एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतका लागि आएको सामाजिक सुरक्षा भत्तालाई बैङ्क खातामार्फत निकासी गर्ने गरिएको छ ।
‘तर सबैलाई वर्सेनी बैङ्क खाता नविकरण गर्नुपर्छ भन्ने जानकारी नभएको पाइएकाले समस्या आएको छ ।’–नेम्वाङले भनिन्–‘कसैको मृत्यु भएको हुन सक्छ । कसैले विवाह गरेको हुनसक्छ । कसैले ठाउँ नै छोडेर गएको हुनसक्छ । त्यही कारणले बैङ्क खातालाई नविकरण पनि अनिवार्य गरिएको हो ।’
नेम्वाङका अनुसार गएको चौमासिकमा इलाम नगरपालिका–८ का मात्रै ८० जनाले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
नगरका अन्य वडामा पनि यो समस्या रहेको जनाइएको छ । सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई २ हजार रुपियाँ उपचार खर्च सहित अन्यलाई समेत मासिक १ हजार रुपियाँका दरले चौमासिक रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।