INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिकालाई गैरकानुनी हिरासतमा राखेर यातना

१३ वर्षीया बालिकालाई गैरकानुनी हिरासतमा राखेर यातना दिएको पीडित पक्षले आरोप लगाएको छ ।

विर्तामोड नगरपालिका–४ मियावारीकी १३ वर्षीया बालिकालाई ०८२ फागुन २९ गतेदेखि इलाका प्रहरी कार्यालय, अनारमनीले गैरकानुनी हिरासतमा राखेको पीडित पक्षको आरोप छ ।

लागुऔषध मुद्दा आरोपमा अनुसन्धानका लागि भन्दै प्रहरीले हिरासतमा राखेर यातना दिएको पीडित बालिकाकी फूपु सञ्जेरी खातुनले बताउनु भयो ।

घर खानतलासी गर्ने नाममा प्रहरी आयो, आमा–छोरीलाई हत्कडी लगाएर लग्यो, सञ्जरी खातुनले भन्नुभयो–हामीलाई अहिलेसम्म भेट्नसमेत दिएको छैन ।

इलाका प्रहरी कार्यालय अनारमनीका असइ नवराज थापा नेतृत्वको टोलीले घरमा तोडफोड गर्दै नगद तथा गरगहना समेत लगेको पीडित पक्षको आरोप छ ।

राष्ट्रिय मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डाक्टर रुपक खनालले प्रहरीले गैरकानूनी कार्य गरेको आरोप लगाउनु भएको छ । ‘खानतलासी पूर्जी विना घर खानतलासी गर्न नपाइने र कोही कसैलाई गिरफ्तार गरेर नियन्त्रणमा लिँदा कुटपिट गर्नु मानव अधिकारविरूद्धको व्यवहार भएको बताउनु भयो ।

अधिवक्ता तारामणि सापकोटाले पनि नाबालिकासम्बन्धी कानुनी प्रावधान स्पष्ट रहेकाले ‘बालबालिकालाई पक्राउ गरेर हिरासतमा राख्न नपाइने बताउनु भयो । उहाँले “त्यस्तो अवस्थामा बाल संरक्षण कक्षमा राखेर सादा पोशाकका प्रहरीले अनुसन्धानका क्रममा हेरचाह गर्नुपर्छ ।’ तर, फैजदारी अपराध गर्‍यो भनेपनि हिरासतमा राख्न पाइँदैन ।

घटनापछि परिवार न्यायको खोजीमा छ । प्रहरीको कुटपिट, गैरकानूनी हिरासत र सम्पत्ति हिनामिनाको छानबिन हुनुपर्ने पीडित पक्षको माग छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय, झापाले चैत ४ गते विज्ञप्ति जारी गरेर प्रहरीमाथि लगाइएको आरोपको खण्डन गरेको छ ।

सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा प्रहरीले हिरासतमा राखेर बालिकालाई यातना दिएको भन्ने विषयको खण्डन गरेको हो ।

प्रहरीले लागू औषध मुद्दा र चोरीको घटनाका लागि फागुन २९ गते विर्तामोड नगरपालिका–४ मियावारीकी २८ वर्षीया मसिना खातुनलाई गिरफ्तार गरेको र घटनाका विषयमा अनुसन्धान भइरहेको विज्ञप्तिमार्फत जनाएको छ ।

नरेश खाती

अन्य

भिडियो