INSEC Online

📅 २०८३ जेष्ठ २१

हावाहुरीसँगैको वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षति

कोशी प्रदेशका विभिन्न जिल्लामा हावाहुरीसँगैको वर्षा र असिनाका कारण जनधनसहित कृषिवाली र भौतिक संरचनामा क्षति पुगेको छ ।

हावाहुरीसँगैको वर्षाका कारण ताप्लेजुङ, ओखलढुङ्गा, पाँचथर, इलाम, खोटाङ, धनकुटा, झापा, सुनसरी, उदयपुरमा क्षति पुगेको छ ।

हावाहुरीका कारण रूखले लडेर लाग्दा झापामा एक जना र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार ०८२ चैत २ गतेको हावाहुरीका कारण सिदिङ्वा गाउँपालिका–२ को वडा कार्यालयको पुरानो भवनको छाना हावाले उडाएको छ । अम्बिका आधारभूत विद्यालयको शौचालयमा हावाहुरीका कारण क्षति पुगेको छ । सरकारी संरचना र निजी सम्पत्तिसहित सिदिङ्वा गाउँपालिका–२ मा ५० लाख रुपियाँ बराबरको क्षति भएको वडाध्यक्ष पूर्णबहादुर लिम्बूले बताउनु भएको छ ।

इन्सेक ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा हावाहुरीका कारण दुई ओटा विद्यालयमा क्षति पुगेको छ । चैत २ गतेको हावाहुरीका कारण दुई ओटा विद्यालयका छाना उडाउदा ५ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको छ । हावाहुरीबाट सिद्धिचरण नगरपालिका–४ रुम्जाटार,  सिद्धिचरण नगरपालिका–२ ठुलाछाप, सिद्धिचरण नगरपालिका–११ मिलनचोक, सुनकोशी गाउँपालिका–४ र ५, तथा मोलुङ गाउँपालिका–१ लगायत क्षेत्रमा क्षति पुगेको छ । सुनकोशी गाउँपालिका–५ डाँडाखर्कस्थित चौतारा माध्यमिक विद्यालय र सुनकोशी गाउँपालिका–६ पारस्थित दामती माध्यमिक विद्यालयको छाना हावाले उडाएको छ ।

पाँचथर इन्सेक प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार चैत २ गतेको हावाहुरीका कारण जिल्लामा विभिन्न क्षेत्रमा क्षति पुगेको छ । मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बास्थित सहकारी भवनमा हावाहुरीका कारण २ लाख ५० हजार रुपियाँ र भगवती माध्यमिक विद्यालयका तीन ओटा सोलार प्यानलमा क्षति हुँदा १ लाख ५० हजार रुपियाँ बराबरको सामग्री काम नलाग्ने भएको छ । फाल्गुनन्द गाउँपालिका–६ मा रहेको श्री जयनारायण माध्यमिक विद्यालयको दुई तले पक्की भवन,कम्प्युटर, प्रिन्टर, सोलार, स्मार्टटिभीमा क्षति पुग्दा ५० लाख रुपियाँ बराबरको क्षति भएकोगाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले बताउनु भयो । हावाहुरीका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि पठनपाठनमा प्रभावित हुनैका साथै वार्षिक परीक्षा सञ्चालनमा कठिनाइ हुने भएको विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले बताउनु भएको छ ।

खोटाङ इन्सेक स्रोत व्यक्ति कोपिलादेवी बाँस्तोलाका अनुसार जिल्लामा हावाहुरीका कारण सञ्चार उपकरणमा क्षति पुगेको छ । जसका कारण स्थानीय सूचनाको अधिकारबाट वञ्चित हुनु परेको छ । हावाहुरीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको हलेसी एफएमको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । टावर भाँचिएपछि रेडियोको प्रशारण बन्द भएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताउनु भयो । हावाहुरीले जिल्लाका विभिन्न विद्यालयको छाना उडाएको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश बुढाथोकीले बताउनु भएको छ ।

इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार चैत २ गते हावाहुरीसहितको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको छ । धनकुटा नगरपालिकाको निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा विजुलीको प्रसारण लाइनमा क्षति पुगेको छ । हावाहुरीका कारण जिल्लाका विभिन्न क्षेत्रमा कृषिवालीमा क्षति पुगेको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले बताउनु भएको छ ।

इलाम इन्सेक प्रतिनिधि मनोज अधिकारीका अनुसार चैत ३ गतेको हावाहुरीका कारण विजुलीको प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाका अधिकांश क्षेत्रका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । हावाहुरीसँगको असिना र वर्षाका कारण जिल्लामा तरकारीबाली, मकैवालीमा क्षति पुगेको छ । किसानले लगाएको स्कुसको माच, टमाटरको टनेल, मकैबालीमा क्षति पुगेको छ । माइजोगमाइ गाउँपालिकाको सोयाङ, नामसालिङ, प्याङ लगायतको स्थानमा पनि हावाहुरीले कृषिवालीमा अत्यधिक क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । हावाहुरीले विजुलीको प्रसारण लाइनमा क्षति पुर्‍याएपछि जिल्लाको आधाभन्दा बढी क्षेत्रमा विजुली प्रवाह रोकिएको नेपाल विद्युत प्राधिकरण, इलाम वितरण केन्द्रले जनाएको छ ।

इन्सेक झापा स्रोत व्यक्ति नरेश खातीका अनुसार फागुन २८ गते र त्यसपछि आएको हावाहुरी र असिनापानीसहितको वर्षाले जिल्लामा सबैभन्दा बढी मकैवालीमा क्षति पुर्‍याएको छ । हावाहुरीका कारण कचनकवल र झापा गाउँपालिकामा ४४ हजार हेक्टर क्षेत्रफल जमिनमा लगाइएको मकैवालीमा क्षति पुगेको छ । बाहृदशी गाउँपालिकामा गरिएको व्यवसायिक केराखेतीमा समेत क्षति पुगेको छ ।

इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार चैत २ गतेको हावाहुरीसहितको असिनापानीले जिल्लामा लगाएको मकै, गहुँ तथा तरकारी बालीमा ठुलो क्षति पुर्‍याएको छ । हावाहुरी र असिनाले खाद्यान्न तथा नगदे बाली नष्ट गरेपछि किसान चिन्तित भएका छन् । असिनापानीले मकै, गहुँ, खेसरी, मसुरो र तरकारी बालीमा क्षति पुर्‍याएको किसान शम्भु यादवले बताउनु भयो । असिनापानीले विशेष गरी इनरुवाको बबिया, जल्पापुर, मधेसा र हरिनगर गाउँपालिकाको रामनगर भुटाहा, वसन्तपुर तथा देवानगन्ज गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको छ । इनरुवा कृषि शाखाका कृषि विकास अधिकृत कुवेर निरौलाले इनरूवा नगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ६० प्रतिशतमा मकै र ३० प्रतिशतमा गहुँ खेती गरिएको बताउनु भयो । असिनाका कारण धानचमर निस्किएका र सुत्ला च्यापेका मकै तथा बाला लाग्न लागेका गहुँ पूर्णरूपमा नष्ट भएको छ ।

इन्सेक उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार चैत २ गतेको हावाहुरीका कारण कटारी नगरपालिका–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी केदारमान दोङले वर्षासँगै आएको हावाहुरीका कारण नजिकै रहेको कटमिरोको रुखको हाँगा भाँचिएर लाग्दा तामाङको ज्यान गएको हो । कटारी नगरपालिका–५ मा चैत २ गतेको आएको हुावाहुरीले ढालेको रुखले पसलसहितको एउटा घर क्षति पुर्‍याउँदा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । पाँच वर्षीया बिनिषा चौधरी, कटारी नगरपालिका–३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही ठेगानाका ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी नगरपालिका–१२ बसेरीका १६ वर्षीया अस्मिता परियार घाइते भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो