सदरमुकाम सिमकोटमा खानेपानीको अभाव भएको भन्दै स्थानीय महिलाहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि यता सदरमुकाम सिमकोट बजारमा खानेपानीको अभाव भएको भन्दै चैत ३ गते जिल्ला प्रशासन कार्यालय बजारको एकताचोक र काठे चुलीमाका महिलाहरूले घेराउ गरेका हुन् ।
१० दिनदेखि धारामा पानी नआएको गुनासो गर्दै सिमकोट गाउँपालिका–५ र ६ बजार स्थित स्थानीय नागरिकहरू जिल्ला प्रशासन कार्यालय हुम्लामा धर्ना दिनुका साथै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीलाई ध्यानाआर्कषण समेत गराएका छन् ।
बजारका १५ घरधुरीका स्थानीय महिलाहरूले रित्ता भाँडा सहित प्रशासन कार्यालयको मुल गेट धर्ना दिएका छन् ।
पटक–पटक सिमकोट गाउँपालिकालाई खानेपानीको व्यवस्था गर्न स्थानीयले माग गरेपनि सुनुवाई नगरेको स्थानीय उद्गम बुढाले गुनासो गर्नुभयो । उहाँका अनुसार धारामा पानी नआएपछि फागुन ३० गते सिमकोट गाउँपालिकालाई खानेपानीको समाधान गरिदन भन्दै निवेदन मार्फत अनुरोध गरे पनि त्यसको कुनै सुनुवाई भएको छैन ।
गाउँपालिकाले सुनुवाई नगरेपछि प्रशासन कार्यालयमा धाउनु परेको अर्का स्थानीय निर्मला ऐडीले गुनासो गर्नुभयो । आफुहरूले संयुक्त माग गर्दै निवेदन पेस गरिएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले उक्त समस्या खासै ठुलो नभएको भन्दै समस्या समाधानका लागि पहल गरिने बताउनु भयो । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।