१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हनुमाननगर कङ्कालिनी नपा–१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई फागुन ७ गते जिल्ला अदालतले ६ वर्ष कैद सजाय र ३० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका कर्मचारी तिर्थ शर्माले बताए ।
शर्माका अनुसार अदालतमा आई झुठा बकपत्र गरेको आरोपमा उजुरकर्ता एवम् पीडितका बुवालाई ५ सय रुपियाँ जरिबाना समेत भएको छ ।
भँैसी चराउन जङ्गल जाने गरेकी बालिकालाई पछिल्लो पटक ०७५ जेठ २१ गते र त्यसअघि पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २५ गते उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले जेठ २५ गते उजुरी दर्ता गरी आरोपितलाई जेठ २७ गिरफ्तार गरेको थियो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जेठ २५ गते स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित ०७५ असार १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
त्यसैगरी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरूद्धको मुद्दा जिल्ला अदालतले फागुन ७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश दण्डपाणी लामिछानेको इजलाशले अराोपितविरूद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
पीडित बालिकालाई अराोपितले ०७० फागुन २ गते राति बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७० फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ०७० फागुन ६ गते गरिएको थियो ।
प्रहरीले ०७० फागुन १२ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेपनि फरार आरोपितलाई गिरफ्तार गर्न सकेको छैन । जिल्ला अदालतका तत्कालीन स्रेस्तेदार नवराज दुलालले ०७० चैत ५ गते आरोपितलाई वारेण्टसहितको म्यादी पुर्जी जारी गरेपनि हालसम्म फेला परेका छैनन् ।