गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले पतिबाट पटक–पटक हुने शारीरिक तथा मानसिक यातना सहन नसकेपछि आफ्ना दुई सन्तानसहित भेरी नदीमा हाम फाल्दा आमा र छोरीको मृत्यु भएको छ भने छोरा बेपत्ता भएका छन्।
माया ०८२ फागुन २९ गते राति आफ्ना ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दिपकलाई लिएर माइती काका अम्मरदेव गिरीको घर पुगेकी थिइन्। माइती पक्षका अनुसार उनले पति भूपेन्द्र कठायतले मदिरा सेवन गरी दैनिक कुटपिट गर्ने, परस्त्रीसँग सम्बन्ध राख्ने तथा खुकुरी देखाएर ज्यान मार्ने धम्की दिने गरेको गुनासो गरेकी थिइन्।
सोही राति भूपेन्द्र कठायत माइतीघरमै पुगेका थिए। खोजी गर्ने क्रममा माया जंगलमा लुकेको अवस्थामा भेटिएकी थिइन्। त्यहीँ पतिले पुनः कुटपिट गरेपछि माइती पक्षले तत्काल घर नपठाई भोलिपल्ट छलफल गर्ने निर्णय गरेका थिए।
भोलिपल्ट साँझ परिवारबीच भएको छलफलमा भूपेन्द्रले अब कुटपिट नगर्ने प्रतिबद्धता जनाएपछि माया छोराछोरीसहित घर फर्किएकी थिइन्। तर, चैत १ गते बेलुकातिर उनीहरू भेरी नदीमा बेपत्ता भएको खबर आएको थियो।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले खोजी कार्य सञ्चालन गरेको थियो। खोजीका क्रममा माया र उनकी छोरी आशाको शव चैत २ गते फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी माेहनजंग बुढथापाले जानकारी दिनुभयो। उहाँका अनुसार पाँच वर्षीय छोरा दिपकको खोजी कार्य जारी रहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट पारिवारिक कलहका कारण घटना भएको देखिएको छ। माइती पक्षले भने पतिको निरन्तर शारीरिक तथा मानसिक यातनाका कारण यस्तो दुःखद घटना भएको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। पीडित पक्षले चैत ४ गते मृतकका पति विरुद्ध इलाका प्रहरी कार्यालय छिञ्चुमा उजुरी दिने तयारी गरेका छन् ।
मृतकका दाजु प्रेमराज गिरीका अनुसार दशैंयता भूपेन्द्रले मायामाथि नियमित रूपमा कुटपिट गर्दै आएका थिए। यसअघि उनी वैदेशिक रोजगारीका लागि भारत जाने गर्दथे र त्यसबेला दाम्पत्य सम्बन्ध सामान्य रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खतका अनुसार हालसम्म शवकाे पाेष्टमार्टम भएकाे छैन । दुबै जनाकाे शव मेहेलकुना अस्पताल सुर्खेतमा राखिएको छ ।