सखुवाप्रसौनी गाउँपालिका –५ महुवनमा दलित परिवारमाथि कुटपिट गरेको आरोपमा ०८२ चैत १ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । कुटपिटबाट घाइते भएकी ४५ वर्षीया मालती राम र उनको सात वर्षीय भतिज बब्लु कुमार रामको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । मालतीको टाउकोमा चोट लागेको छ भने बब्लुको बायाँ हात भाँचिएकोले प्लाष्टर गरिएको छ । दलित भएको कारण जहिलेपनि विभेद गर्ने र होच्याउने हुँदा प्रतिकारमा बोल्दा आफूमाथि कुटपिट भएको पीडित मालतीको भनाइ छ ।एसपी हरि बहादुर बस्नेतका अनुसार घटना अनुसन्धानको क्रममा रहेकोले आरोपितको नाम हाल सार्वजनिक नगरिने जानकारी दिनु भयो । आरोपितहरु फरार रहेकोले खोजतलास भइ रहेको एसपी बहादुर बस्नेतले बताउनु भयो ।
त्यस्तै राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा चैत १ गते आयोगको टोली सहित मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, मुक्ति समाज नेपालका केन्द्रिय सचिव मानदेव हजारा र सुरेन्द्र पासवानले पीडित परिवारसँग भेट गरी घटनाबारे जानकारी लिएको छ।