बागलुङको ढोरपाटन क्षेत्रमा दादुरा सङ्क्रमण फैलिएपछि ढोरपाटन नगरपालिका भरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको हो । बालबालिकाहरु बिरामी भएपछि परीक्षण गर्ने क्रममा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको र ३१ जनालाई बुर्तिबाङ अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । बिरामीहरु उपचाररत भएकाले थप सर्तकता अपनाउन ०८२ फागुन २७ गतेसम्म विद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत भुमिश्वर शर्माले जानकारी दिनुभयो ।
ज्वरो आउने तथा बिमिराहरु आउने लक्षण देखिएर अलिक जटिल नै भएपछि अस्पताल भर्ना भएका बिरामीहरुको नमुना सङ्कलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) टेकु काठमाडौं पठाएर परीक्षण गर्दा दादुरा पुष्टि भएको जनस्वास्थ्य अधिकृत शर्माको भनाइ छ । पाँच ओटा नमुना परीक्षण गर्दा सबै नमुना दादुरा सङ्क्रमण पुष्टि भएको हुँदा अन्य बिरामीको पनि सोही अनुरुप उपचार भएको उहाँको भनाइ छ ।
दादुरा रोगको सङ्क्रमण भएपछि १० देखि १४ दिनमा बिमिरा देखिने र कसैमा सङ्क्रमण भयो भने सङ्क्रमणको दिनदेखि १४ दिनसम्म नै अरुमा सार्न सक्ने भएकाले यसको सुरक्षाको लागि विद्यालय बन्द गर्नु परेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रभित्र मात्रै ६१ भन्दा बढी बिरामीहरु पहिचान भएका छन् । कतिपयले सामान्य ज्वरो मात्रै भनेर घरमै उपचार गर्दै निको भएको पनि हुन सक्ने सम्भावना रहेको छ । ३१ जना अस्पतालमा भर्ना गरेर उपचार गरेकोमा अरु डिस्चार्ज भइसकेको र हाल नौ जना उपचाररत रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म लक्षण देखिएका मध्ये एउटा नौ महिनाको बच्चामा मिल्दो देखिएको छ भने अन्य सबै भ्याक्सिन लगाउने उमेर पूरा भएकाहरुमा देखिएको छ । भारतबाट आएको १५ वर्षीय बालकले ल्याएको हुन सक्ने आशंका गरिएको छ र उ बाट पनि अधिकांश १२ देखि १६ वर्ष भित्रका बालबालिकामा रोग सरेको देखिन्छ । बागलुङको निशिखोला गाउँपालिकामा भारतबाट आएको बालक ढोरपाटन नगरपालिकाको सुकुरदुङ आएको र त्यहीबाट ढोरपाटन क्षेत्रमा रोग फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनस्वास्थ्य कार्यालय प्रमुख शर्माको भनाइ छ ।
अलिक जटील अवस्थामा पुगेका बिरामीहरुलाई अस्पतालमा भर्ना गर्ने गरिएको र फागुन १७ गते बुर्तिवाङ अस्पतालमा रहेका बिरामीको नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा दादुरा पुष्टि भए पछि विद्यालय बन्द गर्ने निर्णय भएको ढोरपाटन नगरपालिकाले जनाएको छ । १७ गते सङ्कलित नमुनामा पुष्टि भएपछि २० गते एकै दिन ४८ जना बिरामी पहिचान भएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।
बागलुङ जिल्लामा पछिल्लो एक दशक यता दादुराको सङ्क्रमणबारे आफूलाई जानकारी नभएको स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो । उहाँ भन्नुहुन्छ पछिल्लो पटक सन २०२६ को सुरुआतमा सर्लाहीको मलंगवा क्षेत्रमा आउटब्रेक भएको जानकारी थियो । सन् २०२६ सम्म दादुरा पूर्ण रुपमा उन्मुलन गर्ने नेपालको लक्ष्य थियो र त्यही अनुरुप नै काम भइरहेको थियो, १० वर्ष भन्दा बढी दादुरा नदेखिएकोमा एक्कासी देखिदा समस्या हुने भयो । यही भएको भन्दा पनि बाहिरबाट आएको व्यक्तिबाट सरेको देखिएको हुँदा पनि नेपालमा भने दादुरा नभएको मान्न सक्ने आधार रहेको उहाँको भनाइ छ ।