विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा फागुन २३ गते बिहानका राति सुतिरहेका कैदीबन्दीमाथि चौकीदारले कट्टी प्रहार गर्दा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर र एक जनाको सामान्य छ ।
घाइते हुनेहरुमा एक जना भारतीय नागरिक पनि छन् । घटनामा भारतको उत्तर प्रदेश दिनाजपुर गौरी घर भएका ३५ वर्षीय चन्चल बर्मन र मोरङको ग्रामथान गाउँपालिका–५ घर भएका २८ वर्षीय सञ्जय चौधरी घाइते भएको कारागार प्रशासक गौरव ढुंगेलले बताउनु भयो ।
गम्भीर घाइते बर्मनको अनुहारभरि गहिरो चोट लागेको छ । चौधरीको हातमा चोट लागेको छ । कोशी अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको छ ।
घाइते दुवै जनामाथि सुतिरहेका बेला कारागारको ‘बी ब्लक’का चौकीदार गोपाल दनुवारले बिहान राति ३ बजेतिर कट्टीले अन्धाधुन्ध आक्रमण गरेको कारागार प्रशासक ढुंगेलले बताए । मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका ३१ वर्षीय दनुवार जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।
घटनामा प्रयोग गरिएको कट्टीसहित दुनवारलाई फागुन २३ गते नै गिरफ्तार गरि घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले बताउनु भएको छ।