अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ सार्वजनिकीकरण कार्यक्रम तथा सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन ७ गते धनगढीमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीरकण गरेका हुन् ।
उनले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा मुलुक भरी भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू पुस्तकको माध्यमबाट सार्वजनिक गर्दै आउनुले राज्यलाई मानव अधिकारप्रति थप जवाफदेही र जिम्मेवार बनाउन मदत पुगेको धारणा राखेका थिए ।
उनले भने–‘अन्य प्रदेशको तुलनामा सुदुरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनाहरूमा कमी देखिएको छ । यो सकारात्मक पक्ष हो । तर, आगामी वर्षमा उल्लङ्घन र ज्यादतीका घटनामा उल्लेख्य कमी ल्याउनका लागि प्रदेश सभा र प्रदेश सरकारले सोही अनुरूपको अयोजना ल्याएर अगाडि बढ्नु पर्दछ । यसका लागि सबै पक्ष र निकायहरूको साझा सहकार्य र समन्वय आवश्यक छ ।’
सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्ययले राज्यको काम गर्ने शैली र व्यवहार अहिले पनि परिवर्तन नभएकोले मानव अधिकारको संरक्षण, सम्वर्द्धन र परिपूर्ति नभएको बताउँदै यसका लागि राजनीतिक संस्कार र सरकारको कार्यशैलीमा परिवर्तन हुन आवश्यक भएको बताए ।
सांसद डिल्लीराज पन्तले आगमी वर्ष इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक बिभिन्न सरोकारवालाहरूले दिनु भएको महत्वपूर्ण सुझावहरूलाई ध्यानमा राखेर प्रकाशन गर्न आग्रह गरेका थिए ।
उनले भने–‘पुर्णता कसैबाट पनि आउँदैन । वर्ष पुस्तकलाई पनि समयसापेक्ष बनाउन आवश्यक छ । घटनाको सङ्ख्या मात्रै नभएर यसलाई थप विश्लेषणात्मक बनाउनु पर्छ ।
राष्ट्रिय मानव अधिकार अयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा प्रमुख झङ्करबहादुर रावलले इन्सेकले प्रकाशन गरेको वर्ष पुस्तक राष्ट्रिय मानव अधिकार आयोगलगायत मानव अधिकारसँग सरोकार राख्ने अन्तराष्ट्रिय निकायहरूका लागि समेत सन्दर्भ सामग्रीका रूपमा उपयोगी रहेको धारणा राखेका थिए ।
वारका केन्द्रीय उपाध्यक्ष गङ्गाराम पाध्यायले नेपाल मानव अधिकार वर्ष पुस्तकमा नेपालको संविधानले ग्यारेन्टी गरेका मौलिक हकको कार्यान्वयको अवस्थाको विश्लेषण समावेश गरिनु पर्ने सुझाव दिएका थिए ।
गैरसरकारी संस्था माहासङ्घका केन्द्रीय सचिव धर्मराज पाठकले इन्सेकले लामो समयदेखि मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा गरेको कार्य प्रशंसनीय भएको उल्लेख गर्दै आगामी दिनमा आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारका विषयमा इन्सेकको वर्ष पुस्तक केन्द्रित हुनु पर्ने सुझाव दिएका थिए ।
सार्वजनिकीकरण कार्यक्रममा इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहलाई उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कारले सम्मानित गरिएको थियो ।
उत्कृष्ट जिल्ला प्रतिनिधि सिंहलाई कार्यक्रममा प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रशांसा–पत्र र ७ हजार रुपियाँ नगर पुरस्कार दिएका छन् ।
