इन्सेक पर्यवेक्षक प्रतीक्षा काफ्लेका अनुसार स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १ सय ७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय स्याङ्जालाई पत्र पठाउँदै मतगणनाका सम्बन्धमा ०८२ फागुन २२ गते सर्वदलीय बैठक राखेर निर्णय गर्न निर्देशन दिएको थियो । आयोगका अनुसार मतगणनाको विषयमा सम्बन्धित पक्षबीच सहमति जुटाएर मात्र मतपत्र गणना गर्ने वा नगर्नेबारे निर्णय गर्न भनिएको थियो । सहमति नभए बहुमत वा द्विपक्षीय सहमति गरेर गणना प्रक्रिया अघि बढाउन सकिने बताएको थियो । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाएर यथाशीघ्र मतगणना कार्य सुरु गर्न पनि निर्देशन दिएपछि वालिङ नगरपालिकामा बसेका सर्वदलीय बैठकबाट मतगणना गर्ने सहमति भएको हो । मतगणना सुरू गर्ने सर्वदलीय सहमति भएसँगै बैठकले हस्ताक्षर बिना मतपत्र वितरण गर्ने मतदान अधिकृतलाई कारबाहीका लागि निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
इन्सेक प्रतिनिधि उद्धब पोखरेलका अनुसार गौरीशंकर गाउँपालिका–९ को बेदिङ मतदान स्थलमा मतदाताले मतदान बहिस्कार गरेका छन् । बेदिङमा कोही पनि उम्मेदवार मत माग्न नपुगेको र बेदिङको गुनासो नसुनेको भन्दै मतदाताले मतदान बहिस्कार गरेका हुन् । मतपेटिका लिन बेदिङ गयको हेलिकप्टर खाली मतपेटिका लियर सदरमुकाम फर्केको मतदानमा खटिएका एक कर्मचारीले बताउनु भयो । आरोहीहरूको गाउँ भनी परिचित बेदिङमा १ सय ३३ मतदाता रहेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन
२०८२ फागुन २१ गते
प्रारम्भिक प्रतिवेदन
इन्सेक ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ टोक्सेलका स्थानीयले मतदान बहिस्कार गरेका छन् । साँझ ५ बजेसम्म मानेभन्ज्याङ गाउँपालिका–७ स्थित शहिद स्मृति आ.वि, सातसल्ले मतदान केन्द्रमा मतदाता नआएपछि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मतदान नभएको मतदान अधिकृत परवासी राईले बताउनुभयो । समानुपातिक तर्फ दुई जना महिला र दुई जना पुरुष कर्मचारी गरी चार जनाले मतदान गरेका छन्।
सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार गोदावरी नगरपालिका–१ का स्थानीय जंगबहादुर राना र उहाँको पत्नी मतदान गर्न जाँदैगरेको अवस्थामा बाटो छेकेर आफूहरुमाथि दुई जना विष्ट थरका व्यक्तिहरुले कुटपिट गरेका छन् । गोदावरी नगरपालिका १ स्थित घण्टेश्वरी मावि मतदान केन्द्रमा मतदान गर्न गइरहेको समयमा उहाँहरुमाथि कुटपिट भएको भन्दै पीडित पक्षले जानकारी गराएको र भोली फागनु २२ गते उजुरी दिने समेत पीडितहरुले बताएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्नहरुको पूर्ण विवरण पन प्राप्त नभएकोले उहाँहरुले किटानी जाहेरी दिएपछि मात्रै घटनामा संलग्नहरुको पहिचान खुल्ने इलाका प्रहरी कार्यालयले जनाएको छ । कुटपिटबाट घाइते भएका दम्पत्तीको पदमा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
इन्सेक प्रतिनिधि मञ्जिता मैनालीका अनुसार मकवानपुर जिल्लाको मनहरी गाँउपालिका–४ मा मतदाताहरूका लागि नेकपा एमालेले छुट्टै स्थानमा र त्यहाँ क्रियाशील अन्य राजनीतिक दलहरूले छुट्टै स्थानमा संयुक्त रूपमा खानाको मेस चलाएको छ ।
त्यस्तै सेतिदेवी मावि स्याउले मतदान केन्द्रमा मतदानका लागि गएकी ६५ वर्षीय महिलाको नाममा अर्कै ब्यक्तिले मत राखेको भन्दै बिवाद भएको थियो
मकवानपुरमा ४ बजेसम्ममा ८१ हजार ४ सय ९३ पुरुष ८६ हजार १ सय ७८ र अन्य ४ गरि जम्मा १ लाख ६७ हजार ६ सय ७५ जनाले मतदान गरेका छन्, जुन कुल मतदाताको ५३.१७% रहेको का प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । मकवानपुरका २ ओटा निर्वाचन क्षेत्रमा ३ लाख १५ हजार ३ सय ३४ मतदाता छन् ।
इन्सेक बाँके प्रतिनिधि ध्रुबराज शर्माका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान भइरहेका बेला नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी स्कुल नजिक कार्यकर्ता भोजको आयोजना गरिएको पाइएको छ। स्थानीयका अनुसार मतदान जारी रहेका समयमा मतदानस्थल नजिकै पण्डाल टाँगी कार्यकर्ताका लागि भोजनको व्यवस्था गरिएको थियो। निर्वाचन आचारसंहिता अनुसार मतदानस्थल वरपर मतदातालाई प्रभावित पार्ने खालका गतिविधि गर्न नपाइने व्यवस्था रहेको छ। उक्त गतिविधिबारे जानकारी पाएपछि प्रहरीले हस्तक्षेप गर्दै पण्डाल हटाएको जनाएको छ।

इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार गौरस्थित कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा अन्तरर्गत कारागारमा रहेका कैदीबन्दीमध्ये ६१ जनाले मात्रै मतदान गरेको मतदान अधिकृत सावित्रा थापाले जानकारी दिइन्। कारागारमा हाल २ सय ८ कैदीबन्दी छन्, जसमा १ सय ९९ पुरुष र नौ महिला छन्। तीमध्ये ६३ जना पुरुष कैदीबन्दी मतदाता सूचीमा समावेश भएको थापाले बताउनु भयो । मतदानका लागि उक्त केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी खटिएका थिए। मतदान अधिकृत थापाले पनि सोही केन्द्रबाट आफ्नो मत खसालिन्। यसैगरी मतदान कर्मचारी बाहेक कारागारका कर्मचारी, निर्वाचनका लागि खटिएका प्रहरी तथा नेपाली सेनासहित २२ जनाले पनि सोही केन्द्रबाट मतदान गरेका छन् ।
त्यसैगरी मतदानकै बीच रौतहट २ का नेकपाका उम्मेदवार किरण शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले फेसबुकमार्फत सो घोषणा गरेका हुन् ।
इन्सेक पर्यवेक्षक चिरञ्जीवी घिमिरेका अनुसार झापाको अर्जुनधारामा केहीबेर मतदान स्थगित भएको छ । दिउँसो ३:३० बजे अर्जुनधारा –४ स्थित मदनपुर शिवनारायण आधारभूत विद्यालय मतदान केन्द्रमा समानुपातिकतर्फ ५३ थान मतपत्रमा निर्वाचन अधिकृत सुनिता दाहालले हस्ताक्षर नगरेको विषयलाई लिएर विवाद भएको हो । करिब २५ मिनेट मतदान स्थगित भई निर्वाचन प्रतिनिधिहरुबीच बैठक बसी दिउँसो ३:५५ बजेदेखि पुनः मतदान सुचारु भएको जनाइएको छ । यसअघि दिउँसो १ बजे बाह्रदशी गाउँपालिका –६, घोडामारास्थित घोडामारा आधारभूत विद्यालयको मतदान केन्द्रमा केहीबेर मतदान स्थगित भएको थियो ।
इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार पाल्पाका केही मतदान क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत गतिविधि भएको पाइएको छ । बगनासकाली गाउँपालिका–८ बराङ्दी, वडा नं. ९ चापपानी र वडा नं. ७ खानिगाउँमा राजनीतिक दलहरूले आपसी समझदारीमा सवारी साधन प्रयोग गरी मतदातालाई मतदान केन्द्रसम्म ल्याउने र पु¥याउने गरेको पर्यवेक्षणका क्रममा भेटिएको हो। निर्वाचन आचारसंहिता अनुसार मतदानको दिन मतदातालाई प्रभावित पार्ने वा संगठित रूपमा ओसारपसार गर्ने कार्य निषेध गरिएको छ। तर ती स्थानहरूमा मोटरसाइकल तथा अन्य सवारी साधनमार्फत मतदाता ल्याउने र फिर्ता पुर्याउने गतिविधि देखिएको स्रोतले जनाएको छ। यद्यपि, ती क्षेत्रमा मतदान प्रक्रिया भने शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

इन्सेक सप्तरी प्रतिनिधि नविन यादवका अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल प्रहरीले हिँडडुल गर्न कठिनाइ भएका ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक मतदान केन्द्रसम्म पुर्याएर मतदान गर्न सहयोग गरेको हो । स्वास्थ्य चौकी डार्हा मतदान केन्द्रमा खटिएका प्रहरी सहायक हवल्दार मोनराज रायले हिँडडुल गर्न नसक्ने एक ज्येष्ठ नागरिकलाई सहारा दिँदै सुरक्षित रूपमा मतदान स्थलसम्म पुर्याएका थिए। प्रहरीको यस सहयोगले मतदानमा सहभागी हुन असहज महसुस गरिरहेका मतदातालाई सहजता भएको देखिएको छ। प्रहरीले मतदाताको सुरक्षासँगै सेवा र सहयोगको भावना देखाउँदै गरेको यस कार्यलाई स्थानीयले प्रशंसनीय र उदाहरणीय भएको बताएका छन्।

इन्सेक पर्यवेक्षक हरिन्द्र कुशवाहका अनुसार सर्लाहीको मलङ्गवा नगरपालिका वडा नं. ९ स्थित सर्लाही कारागारमा मतदान सम्पन्न भएको छ। कारागारमा रहेका कैदीबन्दीहरूका लागि गरिएको मतदानमा कुल ३४ जना कैदीबन्दीले मतदान गरेका छन्। मतदान शतप्रतिशत खसेको सहायक मतदान अधिकृत रिन्कु महतोले जानकारी दिनुभयो।
इन्सेक पर्यवेक्षक शर्मिला रोकायाका अनुसार बाजुराको बुढीनन्दा नगरपालिका–१ स्थित बाधु माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा रिपोर्टिङ्ग गर्न निषेध गरिएको छ। पर्यवेक्षण अर्थात पत्रकारलाई मतदान केन्द्रको गेटबाटै भित्र जान नदिइएको र प्रवेश गर्न खोज्दा परिचयपत्र मागेर निर्वाचन अधिकृत कहाँ लिइएको थियो । त्यति मात्र नभई आफ्नै तर्फबाट थप परिचयपत्र लिएर मात्र भित्र जान पाउने भन्दै गेटबाटै फर्काइएको जनाइएको छ। उक्त मतदान केन्द्रमा जम्मा १ हजार ४ सय ३५ मतदाता रहेका छन्। तर, मतदानको प्रगति तथा कति मत खस्यो भन्ने विवरण समेत समयमै उपलब्ध नगराइएको तथा जानकारी दिन आनाकानी गरेको छ l
इन्सेक मकवानपुर प्रतिनिधि मञ्जिता मैनालीका अनुसार क्षेत्रीय कारागार, भीमफेदीमा दिउँसो साढे १ बजेसम्म ४ महिला सहित १ सय ४९ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागार प्रशासनका अनुसार कारागारमा रहेका १ सय ६२ मतदातामध्ये १ सय ४९ जनाले मतदान गरेका हुन् । भीमफेदी कारागारमा केहिदिन अघि सम्म चार महिलासहित १ सय ६६ जना मतदाता रहेकामा चार जना कैदी छुटेपछि मतदाताको संख्या १ सय ६२ कायम भएको थियो । कारागारमा रहेका कैदीबन्दीले भने समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ।
इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार धनुषा निर्वाचन क्षेत्र नं. १ धनुषाधाम नगरपालिका–१ मङ्गराहको मुसहर बस्तीमा ज्येष्ठ नागरिकहरूले मतदान गर्न गाह्रो भएको दुखेसो पोखेका छन्। करिब १:३० बजे अनुगमन गर्दा मतदान स्थलसम्म पुग्न सवारी साधन नहुँदा वृद्ध मतदाताहरू घरमै बस्न बाध्य भएका थिए। ७५ वर्षीया जतनदेवी सादाले दुख व्यक्त गर्दै भनिन्, सवारी साधन नहुँदा हामी अहिलेसम्म मतदान गर्न पुगेका छैनौं। अन्य ज्येष्ठ नागरिक र स्थानीय मतदाताहरूले पनि मतदानमा पहुँच नपाएको असहज अनुभव पोखे। सो विषयमा धनुषा निर्वाचन क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत मनोज बरालले अहिले ज्येष्ठ नागरिकहरूलाई मतदान स्थलसम्म पुग्नको लागि कुनै व्यवस्था गरिएको छैन। नैतिकताको हिसाबले मात्र आम नागरिक र जनप्रतिनिधिहरूले ज्येष्ठ नागरिकहरूलाई आवतजावतको लागि साधनको व्यवस्थामा सहयोग गर्नुपर्ने बताउनुभयो।
धनुषा इन्सेक प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार निर्वाचन क्षेत्र नं. २ अन्तर्गत रहेको औरही गाउँपालिका–३ चक्करका जनता माध्यमिक विद्यालयका मतदान केन्द्र (क), (ख) र सोही पालिका–५ का मतदान केन्द्र (क), (ख)साथै धनुषा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत रहेको मिथिला बिहारी नगरपालिका–८ कचुरी मिथिला माध्यमिक विद्यालयका मतदान केन्द्रमा पर्यवेक्षकलाई मतदान अनुगमन गर्न नदिएको परिवेक्षक बलिराम कुमार शाहले जानकारी दिनुभयो । यस विषयमा निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत पुरुषोत्तम खडिवाडासँग फोनमार्फत संवाद गर्दा, अधिकृत खडिवाडाले यसबारे आफूलाई जानकारी नभएको तर पर्यवेक्षकहरुलाई सहज रूपमा अनुगमन गर्न दिनुपर्ने बताएका छन्। त्यसैगरी निर्वाचन क्षेत्र न. २ का निर्वाचन अधिकृत दमोदर रेग्मीलाई पटक–पटक फोन गर्दा, उहाँको मोबाइलमा सम्पर्क हुन सकेन ।
इन्सेक प्रतिनिधि सिताराम अधिकारीका अनुसार धादिङको शंखादेवी मतदान केन्द्र र मनरुपी मावि मतदान केन्द्रमा फर्जी मत हालिएको सूचनाका कारण केहिबेर मतदान रोकिएर पुनः सुरु भयो । त्यस्तै धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा अनियमित रुपमा उम्मेदवार प्रतिनिधि भन्दै मतदान केन्द्र प्रवेश गरेको र अन्य मतदाताको मत हालिएको छ भने नगरप्रमुख ढुंगाना मतदान केन्द्र भित्र बसिरहेका छन् । नीलकण्ठ नपा–८ मा मतदान स्थल कब्जामा भइ एकतर्फी मतदान भएको इन्सेक प्रतिनिधिले बताउनु भयो ।
इन्सेक धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार धादिङका तीन मतदान केन्द्रमा सञ्चारकर्मी र पर्यवेक्षकलाई प्रवेशमा रोक लगाइएको छ । वागेश्वरी मा.वि, बैरेनी र गल्छी गाउँपालिका–४ वाशेश्वरी आ.वि मतदान केन्द्रमा पर्यवेक्षक र पत्रकारलाई रोक लगाइएको छ । त्यसैगरी महाकाली मावि मतदान केन्द्रमा सञ्चारकर्मीलाई निषेध गरिएको पत्रकार केशव अधिकारीले बताउनुभयो । साथै, नीलकण्ठ मावि धादिङबेसी मतदान केन्द्रमा पर्यवेक्षकलाई पर्यवेक्षण गर्न रोक लगाइएको नियोकका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विजय सुवेदीले सहजीकरण गरिएको बताउनुभयो । यसपछि पनि सञ्चारकर्मीलाई गेटबाट नै फर्काइएको थियो
इन्सेक प्रतिनिधि सिताराम अधिकारीका अनुसार धादिङको खनियाबास गाउँपालिका–२ अक्थलीका स्थानीय मतदातालाई मतदानमा जानबाट रोक्ने उद्देश्यले माथिल्लो डुम्रे क्षेत्रमा भिरबाट ढुंगा खसालेर सडक अवरुद्ध गरिएको छ। स्थानीयका अनुसार अक्थलीभन्दा तल रहेको हाइड्रो आयोजनाले खनेको सडक खण्डमा करिब २०० भन्दा बढी मतदाता अलपत्र परेका छन् । उनीहरू बेन्दीदेवी मतदान केन्द्रमा मतदान गर्न जाँदै गर्दा माथिबाट निरन्तर ढुंगा खसालेर बाटो अवरुद्ध गरिएको बताइएको छ । भिरालो बाटो भएकाले माथिबाट ढुंगा खसालिएको स्थानीयको भनाई छ । रास्वपा कार्यकताले ढुंगाहानेको स्थानीय प्रेम तामाङले जानकारी दिनुभयो । घटनापछि मतदातामा त्रास फैलिएको स्थानीयले बताएका छन्।
इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार रौतहट क्षेत्र नं. २ को राजपुर नगरपालिका–९ स्थित बैरिया अनाथालय मतदान स्थलमा अर्काको नाममा भोट हाल्न खोज्ने सोही ठाँउ बस्ने १८ वर्षीय अरजे हयातलाई प्रहरीले गिरफ्तार गरेको छ । हयातले महमद आसिकको नाममा मतदान गर्न खोजेको प्रहरीले जानकारी दिएको छ ।
इन्सेक इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार इलामको चुलाचुली गाउँपालिका -६ तोरीबारी स्थित गीताञ्जली आवासीय विद्यालय मतदान केन्द्रमा १ सय ७ वर्षीया ज्येष्ठ नागरिक विष्णुमाया बानियाँले मतदान गर्नुभएको छ ।

इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत माडी माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा खटिएका एक कर्मचारीले रास्वपाको चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेको आरोप लागेपछि उनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
यसैगरी, चितवन निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत भरतपुर महानगरपालिका–४ स्थित लंकु माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका अर्का कर्मचारीले पनि रास्वपाकै पक्षमा मत मागेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । गिरफ्तार गरीएका कर्मचारीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
इन्सेक हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा फर्जी मत खसाल्न खोज्दा सुरक्षाकर्मी र कर्मचारीले रोकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर खड्काले बताउनु भयो । विवाद बढेपछि हाललाई मतदान स्थगित गरिएको छ ।
इन्सेक दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङ मतदान केन्द्रमा स्थानीय मतदाताहरूले मतदान बहिष्कार गरेका छन् । स्थानीयका अनुसार उक्त क्षेत्रमा कुनै पनि राजनीतिक दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न नआएको भन्दै असन्तुष्टि जनाउँदै मतदाताहरूले मतदान बहिष्कार गर्ने निर्णय गरेका हुन् । मतदाताहरूले निर्वाचनको क्रममा उम्मेदवारहरूले आफूहरूलाई बेवास्ता गरेको गुनासो गर्दै आफ्नो क्षेत्रमा उम्मेदवारहरू नआएको अवस्थामा मतदान गर्नु उपयुक्त नहुने बताएका छन् ।
इन्सेक प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार धनुषा क्षेत्र नम्बर ३ मा नेपाली सेनाले राजनीतिक दलको पर्चा जफत गरेको छ। जनकपुरको कदम चौकस्थित कोलोनिका बूथ केन्द्र अगाडि मतदानका क्रममा राजनीतिक दलहरुले पर्चा वितरण गरिहेको अवस्थामा नेपाली सेनाले पर्चा जफत गरेको हो। हाल सो मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण भइरहेको छ।

इन्सेक पर्यवेक्षक प्रतिक्षा सुवेदीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका १० मा रहेको बालाज्योति मतदान केन्द्रमा मतदान रोकिएको छ। प्रत्यक्ष तर्फको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतदान रोकिएको हो।
इन्सेक सुदूरपश्चिम कार्यालयका अनुसार गोदावरी नगरपालिका- १० स्थित शंकर आधारभूत विद्यालयलमा रहेको मतदान स्थल बाहिर नेपाली कांगेस र नेकपा एमालेका कार्यकर्ताहरुबिच विवाद हुँदा झडप भएको छ । झडपका क्रममा गोदावरी नगरपालिका- १० का वडाध्यक्ष रबीन्द्र शाही (गुड्डु) घाइते हुनुभएको र उहाँको उपचार पदमा अस्पताल, अत्तरीयमा भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र तिमिल्सिनाले बतउनु भयो । दुबै पक्षबिच मतदानस्थल बाहिर झडप भएकोले मतदान कार्यमा कुनै असर नभएको र मतदान कार्य शान्तिपूर्ण रुपमा सुचारु भइरहेको समेत डिएसपी तिमिल्सिनाले बताउनु भयो ।
इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरर्गत सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा कैदीबन्दीका लागि गरिएको मतदान सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ३३ जनाले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ३३ जना कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत शोभा दाहालले जानकारी दिनुभयो । जिल्ला कारागारबाट शतप्रतिशत खसेको मतदान अधिकृत दाहालले बताउनुभयो । जिल्ला कारागारमा मतदाता नामावली भएका २८ पुरुष र पाँच महिला कैदी बन्दीले मतदान गरेको मतदान अधिकृत दाहालले बताउनुभयो । त्यस्तैगरी अस्थायी मतदान केन्द्रबाट १२ बजेसम्म ५१ जनाले मतदान गरेका छन् । जिल्लामा १ हजार ३ सय ९७ अस्थायी मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो ।
इन्सेक मधेश प्रदेश कार्यालयका अनुसार दुई पक्षबीच विवाद भएपछि महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा स्थगित मतदान प्रक्रिया सुचारु भएको छ । सो मतदान केन्द्रमा २ घण्टापछि मतदान प्रक्रिया सुचारु भएको हो । केही मतदाताले दोहोर्याएर मतदान गर्ने प्रयास गरेपछि विवादको स्थिति सिर्जना भएको थियो । साढे १० बजेदेखि स्थगित भएको मतदान प्रक्रिया १२ बजेर ५६ मिनेटमा सुचारु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । विवादको क्रममा वडाध्यक्ष भोरिल यादव तथा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूबीच झडप हुँदा वडाध्यक्ष यादव सामान्य घाइते समेत भएका थिए ।
इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार सर्लाहीको बलरा नगरपालिका–४ मा रोकिएको मतदान पुन: सुरु भएको छ । केहीबेरअघि रास्वपा उम्मेदवार अमरेशकुमार सिंह मतदान केन्द्र पुगेसँगै विपक्षीले विवाद सुरु गरेका थिए । मतदान अहिले सुरक्षित र सामान्य रुपमा जारी रहेको छ ।
इन्सेक मधेश प्रदेश कार्यालयका अनुसार महोत्तरीको बर्दिवास नगरपालिका –७ स्थित प्रेमनगरमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच दोहोरो मतदान गरेको विषयमा विवाद सिर्जना भएपछि मतदान प्रक्रिया स्थगित भएको छ । केही व्यक्तिले दोहोर्याएर मतदान गर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको स्थानीयले बताएका छन्।
एक व्यक्तिले चार पटकसम्म मतदान गर्ने प्रयास गरेको वडा अध्यक्ष भोरिल यादव बताउनु भयो । मतदान पुनः सुचारु गर्नका लागि राजनीतिक पार्टीका प्रतिनिधिहरुबीच छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत गगनदेव महतोले बताउनु भयो ।
इन्सेक ओखलढुंगा प्रतिनिधि सरस्वती बानियाका अनुसार मानेभन्ज्याङ टोक्सेलका स्थानीयले मतदान बहिस्कार गरेका छन् । हालसम्म मतदान शुन्य छ, केन्द्रमा मतदाता नआएकाे मानेभन्ज्याङ गाउँपालिका–७ स्थित शहिद स्मृति आ.वि, सातसल्ले मतदान केन्द्रकी मतदान अधिकृत परवासी राईले बताउनुभयाे ।

इन्सेक उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ स्थित तरकारी तथा फलफूल बिक्री केन्द्र, तावाखोला (क) मतदान केन्द्रमा खटिएका प्रहरी जवान निरज महतमानले बोकेको सर्टगन अचानक पड्किँदा प्रत्यक्ष तर्फको मतपेटिकामा क्षति पुगेको छ। यद्यपि त्यहाँ मतदान कार्य रोकिएको छैन र हाल सुचारु रहेको जानकारी प्राप्त भएको छ।
इन्सेक मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार विराटनगर- ३ स्थित औषधि व्यवस्था विभाग मतदान स्थल नजिक मतदाताहरूका लागि नेपाली कांग्रेस र रास्वपाले भोज गरेको पाइए पछि मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको टोलिले भोज भतेरका लागि प्रयोग गरेका सामाग्री हटाउन निर्देशन दिएपछि भोजका सामग्री हटाउँदै कार्यकर्ताहरू ।

इन्सेक पर्यवेक्षक कृष्ण प्रसाद पाण्डेका अनुसार कास्की कारागारमा यसपटक शतप्रतिशत मतदान भएको छ । अस्थायी मतदान केन्द्रको रूपमा स्थापना गरिएको कारागारभित्र नामावलीमा सूचीकृत सबै ३७ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको थियो । कारागारभित्र ३८ जनाको नाम मतदाता नामावलीमा समावेश भए पनि एक जना धरौटीमा छुटेकाले ३७ जनाले मात्रै मतदान गरेका हुन । । तीमध्ये दुई जना महिला कैदीबन्दी रहेको श्रेष्ठले बताउनुका साथै ३ जना कर्मचारीले पनि मतदान गरेपछि सो केन्द्रमा कुल ४० मत खसेको श्रेष्ठले जानकारी दिनुभयो । कारागारमा हाल ६ सय ९७ जना कैदीबन्दी रहे पनि निर्वाचन आयोगबाट प्रमाणित भई नामावलीमा समावेश भएका व्यक्तिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
इन्सेक पर्यवेक्षक भोलानाथ पौडेलका अनुसार बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिनु भएका निर्वाचन अधिकृत श्याम प्रसाद साह ११ बजे अचानक बेहोस हुनुभएको छ। जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान कार्य जारी रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बेहोस हुनुभएको हो। घटनापछि त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल उद्धार गरी उपचारका लागि बाराकै सिम्रौनगढमा स्थानीय अस्पतालमा लगिएको छ। निर्वाचन कार्यालयका अनुसार उक्त घटनापछि पनि सो मतदानस्थलमा कर्मचारीको समन्वयमा मतदान कार्य नियमित रूपमा सञ्चालन भइरहेको बताइएको छ।
इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार सिन्धुपाल्चोक क्षेत्र नं. २ को नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलालले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै ०८२ फागुन २१ गते उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
तारा चिन्ह लिएर उम्मेदवार भएका दुलालले फागुन २० गते राती चौतारा सागाचोकगढी नपा १३ स्थित ठूलोसिरुवरीमा गएर मतदाताहरुलाई रकम दिएर तारा चिन्हमा भोट माग्दै मतदाताहरुलाई प्रभावित गराएको भन्दै उजुरी परेको हो ।
नेकपाका उम्मेदवारले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि झलकबहादुर नेपाल, नेकपा एमालेका प्रतिनिधि भोला तमाङ र रास्वपाका प्रतिनिधि अपिल पुरीले हस्ताक्षर गरिएको उजुरी मुख्य निर्वाचन कार्यालयमा पुगेको हो । उजुरीमा उम्मेदवारी खारजी गर्नुपर्ने माग गरिएको छ । उम्मेदवार दुलालले मतदाताहरुलाई पैसा बाडेको भन्ने भिडियो समेत पत्रकारले सार्वजनिक गरेका छन् ।
इन्सेक दैलेख प्रतिनिधि अमर सुनारका अनुसार जिल्ला कारागारमा पाँच महिला सहित ३९ जना कैदीबन्दीले मतदान गरेका छन् । त्यहाँ खटिएका ६ जना कर्मचारी सहित ४५ मत खसेको दैलेख कारागार शाखा प्रमुख नृपजंग शाहीले जानकारी दिनुभयो ।
मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने नियम अनुसार उनीहरुले मतदान गरेका हुन् ।
मतदाता नामावलीमा ४० जनाको नाम भए पनि एक जना बिरामी परेको कारण जिल्ला बाहिर उपचारत भएकोले छुटेका जनाइएको छ । दैलेख कारागारमा १६ महिला सहित १ सय ६१ जना कैदीबन्दी थुनामा छन् ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार अपिहिमाल ३ स्थित दुधिला आवि मतदान केन्द्रमा अहिलेसम्म काेही पनि मत हाल्न आएका छैनन् ।

त्यसैगरी नाैगाड गाउँपालिका १ नागु मतदान केन्द्र सुनसान ।

निकुञ्ज पीडितले गरेनन् मतदान
इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार बबई गाउँपालिका- १ को जनता आबिजिला मतदान स्थल र बबई गाउँपालिका- ७ देउती माबी तल्लोमलाइ मतदान स्थलमा बिहान १०:३० बजेसम्म कुनै मत नखसेको जिला मतदान केन्द्रका मतदान अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । जिलामा ६८२ मतदाता रहेका छ्न ।

इन्सेक दोलखा प्रतिनिधि उद्धव पाेखरेलका अनुसार तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको छ । नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएकाे थियाे । निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । साेही कारण अहिले मतदान स्थगित गरिएको छ । यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका गरिरहेका छन् । सर्वदलीय बैठकबाट मुचुल्का तयार गरी पुन: मतदान प्रक्रिया सुचारु गर्न आवश्यक छलफल भईरहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो।
निर्वाचन आयोगले प्रकाशित गरेको विवरणअनुसार करिब १८,९०३,६८९ (१ करोड ८९ लाख) मतदाता छन् । जसमध्ये ९,६६३,३५८ पुरुष, ९,२४०,१३१ महिला तथा करिब २ सय अन्य मतदाता रहेका छन् । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ जना निर्वाचित हुनेछन् । मतदान कार्य व्यवस्थित रूपमा सञ्चालन गर्न देशभर करिब १०,९६७ मतदान स्थल र २३,११२ मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ७५ हजार ७ सय ९७ जना, सशस्त्र प्रहरी बलका ३४ हजार ५ सय ७६ जना, नेपाली सेनाका ७९ हजार ७ सय २७ जना, राष्ट्रिय अनुसन्धानका १ हजार ९ सय २१ र निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना खटिएका छन् ।

मतदान स्थलहरू बिहानैदेखि खुला भएका छन् र मतदाता परिचयपत्रसहित हजारौँ नागरिक आफ्नो मताधिकार प्रयोग गर्न लामबद्ध भएका छन् । आजको मतदानले नेपालका लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ गर्ने, समाजका सबै तहबाट सहभागिता सुनिश्चित गर्ने र भविष्यको नेतृत्व चयन गर्ने निर्णायक अवसर प्रदान गर्नेछ । यो निर्वाचनले देशको लोकतान्त्रिक प्रक्रियाको पुनःसुदृढीकरण गर्ने निर्णायक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पोखरा महानगरपालिका ८ मा बिहान ७ बजेबाट मतदान सुरु भयो । ४ हजार १ सय १७ जना मतदाता रहेको जनप्रिय माविमा चार ओटा मतदान केन्र रहेको सइ लाल बहादुर लामाले बताउनु भयो ।


सुर्खेत विरेन्द्रनगर नगरपालिका -७ चित्राममा बिहान ७ बजेबाट मतदान सुरु भयो । २ हजार ८ सय ९१ मतदाता रहेको श्री कृष्ण संस्कृत तथा साधारण माविमा तीन मतदान केन्द्र रहेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनु भयो ।


इन्सेक प्रतिनिधि जिवन खड्का अनुसार रुकुम पश्चिममा पनि मतदान सुरु

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार बिहान ७ बजेदेखि मतदान सुरू भएको छ । सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना मावि खलंगामा अपांगता भएका प्रमाेद सिह कुँवरले बिहान ७:१२ बजे पहिलो मत खसाले । यस्तै महाकाली नगरपालिका -५ स्थित अपि नाम्पा संरक्षण क्षेत्र ख मतदान केन्द्रमा बिहान ठिक ७ बजे मतदान सुरू भएको मतदान अधिकृत प्रमानन्द कुँवरले जानकारी दिनुभयाे । याे मतदान केन्द्रमा पहिलो मत भाेजराज बडूले मतदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सबै ठाउँमा निर्वाचन सुरू भएको छ । दार्चुलामा ११२ मतदान स्थल, १४३ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र छन् ।

इन्सेक सप्तरी प्रतिनिधि नविन यादवका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आज बिहानदेखि मतदान कार्य सुरू भएको छ। बिहान ७ बजेदेखि जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहका साथ मतदान गर्न लाइनमा बसेका छन्। निर्वाचन आयोगले तोकेको समयअनुसार साँझ ५ बजेसम्म मतदान हुने छ। जिल्लाभरका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवकहरू खटाइएको छ। शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिएको छ। ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका मतदाताका लागि विशेष व्यवस्था समेत गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

इन्सेक प्युठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठान जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ।
जिल्लामा रहेका १ सय ५८ मतदान स्थलका २ सय ३० वटै मतदान केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले जानकारी दिनुभयो।
उहाँका अनुसार सबै मतदान केन्द्रमा आवश्यक जनशक्ति, सुरक्षा व्यवस्था तथा निर्वाचन सामग्रीको व्यवस्थापन पूरा भई कुनै अवरोधबिना मतदान कार्य अघि बढिरहेको छ। मतदाताहरू बिहानैदेखि उत्साहपूर्वक मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ। हालसम्म जिल्लाभर कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।
इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार धनुषा–३ बाट नेकपा एमालेका उम्मेदवार जुली महतोले जनकपुरधाम उपमहानगरपालिका–९, पुस्तकालय मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।

त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार, नेपाली कम्युनिस्ट पार्टीका मातृका प्रसाद यादवले सबैला नगरपालिका –२ श्री रामप्रसाद माध्यमिक विद्यालयमा मतदान गर्नु भएको छ ।

त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ जनकपुरधाम–९ स्थित पुस्तकालय मतदान केन्द्र (बुथ) मा मतदान गर्दै।

इन्सेक सुदूरपश्चिम कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका १६ ओटा निर्वाचन क्षेत्रका सबै निर्वाचन मतदान स्थलहरुमा ०८२ फागुन २१ गते विहान ७ बजेदेखि निर्धारित समयमै प्रतिनिधिसभा सदस्य पदका लागि मतदान कार्य सुरु भएको इन्सेकका जिल्ला प्रतिनिधि तथा इन्सेक पर्यवेक्षकहरुले जानकारी गराएका छन् । सुदूरपश्चिम प्रदेशका १६ ओटै निर्वाचन क्षेत्रहरुमा शान्तिपूर्ण रुपमा मतदान कार्य सुरु भइसकोको सुदूरपश्चि प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रमेराज भट्टले बताउनु भयो ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको र मतदान केन्द्रहरुलाई मानव अधिकारमैत्री बनाउन सबै निर्वाचन स्थलमा कर्मचारीहरुलाई निर्देशन गरिएको र अपांगताभएका व्यक्ति, ज्येष्ठ नागरिक तथा गर्भवतीहरुका लागि मतदान गर्न लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको समेत निर्वाचन कार्यालयका प्रमुख भट्टले बताउनु भयो ।








इन्सेक बैतडी प्रतिनिधि नरीदत्त बडुका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै मतदान स्थलमा विहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सुरुभएको छ ।
डोटी जिल्ला प्रतिनिधि सुबास नेपालीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै मतदान स्थलहरुमा विहान ७ बजे निर्धारित समयमै मतदान कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय,डोटीले जनाएको छ । इन्सेकबाट डोटी जिल्लामा पर्यवेक्षण गरिरहनुभएका नवराज जोशीका अनुसार जिल्लाका १ सय ८० मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा विहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान कार्य सुरु भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि तथा पर्यवेक्षक नरेन्द्रसिंह कार्कीका अनुसार एक निर्वाचन क्षेत्र रहेको यस जिल्लाका दुधिला आधारभूत विद्यालय, झुकु,अपी हिमाल गाउँपालिका ३ र गौरीशंकर मावि, नागुनौगाड १ रहेका मतदान केन्द्रमा कोही पनी मतदान गर्न सहभागि नभएको भए पनि जिल्लाका अन्य सबै निर्वाचन स्थलमा विहान ७ बजेदेखि मतदान कार्य शान्तिपूर्ण रुपमा सुरुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
इन्सेकका बाजुरा पर्यवेक्षक शर्मिला रोकायका अनुसार जिल्लाका सबै निर्वाचन स्थलमा मतदान कार्य निर्धारित समयमै सुरुभएको र स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ शुम्भु सुनन्दा माध्यमिक विद्यालय जुकुमा विहान ७ बजेदेखि मतदान सुरुभएको छ । यस मतदान केन्द्रमा ९ सय १८ जना मतदाता रहेका छन् ।
इन्सेक बैतडी पर्यवेक्षक शर्मिला भागतथी अवस्थीका अनुसार जिल्लामा विहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान कार्य शुरु भइसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनु भयो ।
जिल्लाका एक अस्थायीसहित २ सय १५ मतदान केन्द्रमा मतदान कार्य शुरु भइसकेको र शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।
प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १० जना चुनावी मैदानमा रहेका छन् । यहाँ १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् ।
मतदान कार्यलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि जिल्लाभरी उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।
सबै मतदान केन्द्रहरुमा मतदाताहरुको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताउनु भयो । अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला लगायतलाई मतदानमा सहज होस भनेर सोही किसिमले व्यवस्थापन गरिएको उहाँको भनाइ छ । साँझ ५ बजेसम्म मतदान कार्य सञ्चालन हुने भएकाले आफ्नो मतदान केन्द्रमा गएर मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार पाँच ओटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै निर्वाचन स्थलमा विहान ७ बजेदेखि नै मतदान कार्य शान्तिपूर्ण रुपमा सुरु भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।
इन्सेक प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित प्रदेश वन निर्देशनालय मतदान केन्द्र बाहिर नेपाली कांग्रेसका कार्यकर्ताहरूले पम्प्लेट लिएर प्रचारप्रसार गरेको घटना सार्वजनिक भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाका परिवेक्षक बलिराम कुमार शाहका अनुसार मतदान केन्द्र बाहिर केही व्यक्तिहरूले नेपाली कांग्रेसका पम्प्लेटहरू लिएर प्रचारप्रसार गरिरहेका थिए।
घटनाबारे जानकारी पाएपछि सो स्थानमा खटिएको नेपाल प्रहरीले प्रचारका लागि प्रयोग गरिएका पम्प्लेटहरू नियन्त्रणमा लिएको उनले बताए। तर प्रचारप्रसारमा संलग्न व्यक्तिहरूलाई भने नियन्त्रणमा नलिइएको जनाइएको छ।
त्यसपछि नेपाल प्रहरीले माइकिङ गरेर मतदान केन्द्र आसपास क्षेत्रमा कुनै पनि प्रकारको प्रचारप्रसार नगर्न सर्वसाधारणलाई सचेत गराइरहेको परिवेक्षक शाहले जानकारी दिएका छन्।

इन्सेक दाङका पर्यवेक्षक एकराज भण्डारीका अनुसार दाङ क्षेत्र न. १ का नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले गढवा–४ को दिपेन्द्र होमजुन माविमा मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

त्यसैगरी दाङ क्षेत्र नं. १ का एमाले उम्मेदवार रेवतीरमण शर्मा घिमिरेले प्रावि दुमदुमा खैरीमा रहेको मतदान केन्द्रबाट पहिलो मतदन गर्नुभएको छ ।

इन्सेक बर्दियाका पर्यवेक्षक कवि पौडेलका अनुसार बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमेदवार (रास्वपा)ठाकुर सिह थारुले बढैयाताल गाँउपालिका- ५ स्थित श्री नेपाल राष्ट्रिय इन्दिरा भुसाल माध्यमिक विद्यालय मतदान गर्नुभएको छ ।
