INSEC Online

📅 २०८३ जेष्ठ २१

गस्तीका प्रहरीमाथि आक्रमण गर्ने १२ जना गिरफ्तार

प्रहरी चौकी लुभुबाट गस्तीमा खटिएको प्रहरीमाथि महालक्ष्मी नगरपालिका– ७, चाँगाथली क्षेत्रमा ०८२ फागुन १९ गते आक्रमण र ढुङ्गामुढा गरेको आरोपमा चारजनालाई प्रहरीले हवाई फायर गरी गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी एवम् सूचना अधिकारी गौतम मिश्रले जानकारी दिनुभयो । गिरफ्तार गरिएकाहरूमा मकवानपुरगढी घर भई ललितपुर बस्ने बुद्ध तामाङ, सल्यान घर भई भक्तपुर बस्ने रमेश शाही, सोही ठेगाना भई भक्तपुर बस्ने शंकर शाही र रुकुम घर भई भक्तपुर बस्ने राजु मगर रहेका छन् । आत्मरक्षाको लागि प्रहरीले एक राउन्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिई थप टोली परिचालन गरिएको थियो । घाइते प्रहरी कर्मचारीको किष्ट अस्पताल, इमाडोलमा उपचार भइरहेको एसपी मिश्रले बताउनु भयो । त्यसै गरी ०८२ फागुन १७ गते ललितपुर महानगरपालिका, झम्सिखेलको द ग्रोभ रेस्टुरेन्टअगाडि डिउटीमा खटिएका प्रहरीलाई मदिराको नशामा झैझगडा गरी प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठजनालाई गिरफ्तार जनाएको छ । आरोपितहरु विरुद्ध ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको र घटनाबाट घाइते भएका प्रहरी कर्मचारीको अल्का अस्पताल जावलाखेलमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो