बारागढी गाँउपालिकाको कार्यालयमा फागुन ६ गते प्रसूति गृह सञ्चालनलगायतका आठ बुँदे माग राखी कार्यालयमा तालाबन्दी गरी ढुङ्गामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको छ ।
प्रहरीको लाठी चार्जबाट बारागढी गाँउपालिका–३ का २५ वर्षीय अमित चौधरी, २४ वर्षीय बताही माझी र वडा नं ५ का ३२ वर्षीय सुरेश बैठा घाइते भएका छन् ।
घाइतेहरूको उपचार स्थानीय निजी स्वाथ्य क्लिनिकमा उपचार भएको पीडित अमित चौधरीले बताए । जनहित सङ्र्घष समितिका संयोजक अशोक जयसवालको अगुवाइमा स्थानीयबासीहरूले कार्यालयमा तालाबन्दी गरी ढुङ्गामुढा प्रहार गरेका गाँउपालिकाका अध्यक्ष देवदत बछाडले बताए ।
तोडफोड गरिरहेका स्थानीयलाई रोकी थप क्षति हुन नदिन सामान्य बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डिएसपी रञ्जितसिंह राठौरले बताए ।
प्रदर्शनकारीको ढुङ्गामुढा प्रहारबाट कार्यालयको माथिल्लो तलाको झ्यालको सिसा फुटेको छ । गाँउपालिकाले प्रवाह गर्ने सेवा सुविधा र सेवाग्राहीका मागका विषयमा गाँउपालिका गम्भीर रहेकाले समस्या समाधान गर्न पहल गर्ने अध्यक्ष बछाडले बताए ।