चुनावी गतिविधि बढेसँगै दाङमा रगतको अभाव भएको छ । दाताहरु चुनावी प्रचार प्रसारमा व्यस्त भएको र कुनै रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको दाङका रक्त सञ्चार केन्द्रहरुले जनाएका छन् । राप्ती प्रादेशिक अस्पतालमा अहिले ८० जनाले नियमित डायलासिस गर्दै आएका छन् । रक्तदान नहुँदा विरामीलाई रगत उपलव्ध गराउन गाह्रो भएको रक्त सञ्चार केन्द्र तुलसीपुरका प्राविधिक नरेश चौधरीले बताउनु भयो।
दाङमा घोराही, तुलसीपुर र लमहीमा तीन वटा रक्त सञ्चार केन्द्र सञ्चालनमा छन् । रेडक्रसले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रबाट विरामीहरुले रगत लिदै आएका छन् । तर चुनावी गतिविधि बढेपछि रक्तदान कार्यक्रमहरु हुन नसक्दा रगतको अभाव सुरु भएको र प्राविधिक चौधरीले जानकारी दिनुभयो ।
चुनावी गतिविधि बढ्दै गएपछि रक्तदानका कार्यक्रमहरु रोकिएका छन् भने नियमित रक्तदाताहरु पनि स्वतःस्फूर्तरुपमा उपस्थित हुन सकेका छैनन् । आवश्यक नै परेको खण्डमा रक्तसञ्चार केन्द्रहरुले रक्तदानका लागि अपिल गर्दा पनि अहिले चुनाव प्रचार प्रसारमा भएका कारण तत्काल आउन नसकिने जवाफ दिने गरेको रक्त सञ्चार केन्द्रहरुले जनाएका छन् ।
तुलसीपुरमा माघ महिनामा आठ वटा संस्थाहरुले रक्तदानका कार्यक्रमहरु गर्दा १ सय ११ पिन्ट रगत संकलन भएको थियो तर फागुन यता रक्तदानका कुनै पनि कार्यक्रम हुन नसक्दा रगत अभाव भएको प्राविधिक चौधरीले बताउनुभयो ।
लमही रक्तसञ्चार सेवा केन्द्रमा पनि रगत अभाव छ । माघ २३ गते कार्यक्रमबाट २३ पिन्ट रगत संकलन भएको थियो । त्यसयता कुनै पनि कार्यक्रम नभएको र नियमित रक्तदाताहरु पनि नआउँदा रगत अभाव भएको केन्द्रका प्राविधिक सीमा वलीले बताउनुभयो । घोराहीमा पनि रक्तदान नहुदा १/२ दिनमै समस्या आउने रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले बताउनुभयो । उहाँले चुनावसँगै उम्मेदवार, राजनीतिक दलका नेता, कार्यकर्ताहरुले रक्तदान नै गरेर चुनावी प्रचार, प्रसार गरे रचनात्मकमात्र नभइ विरामीको जीवन जोगाउन सहज हुने सुझाव दिनुभयो ।