स्थानीय तहमा अपागङ्ता परिचय पत्र वितरण गर्न नसक्दा अपागङ्ता भएका व्याक्तिहरूले राज्यबाट प्राप्त गर्ने सेवा र सुविधा पाउनबाट वञ्चित भएका छन् । साथै आफ्नो पहिचान समेत नभएको अपाङ्गता भएका व्याक्तिहरूले गुनासो गरेका छन् ।
स्थानीय तहमा अपागङ्ता परिचय पत्र वितरण प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि जिल्लाका कुनै पनि स्थानीय तहले यो प्रक्रिया अगाडि बढाउन नसक्दा सो क्षेत्रका व्यक्तिहरूले सुविधा पाउन सकेका छैनन् ।
छत्रदेव गाउँपालिका–८ का २४ वर्षीय महेन्द्र परियारले स्थानीय तहले अपाङ्गता परिचय पत्र वितरण नगर्दा राज्यबाट पाउनुपर्ने सेवा र सुविधा पाउन नसकेको बताए ।
उनले करिब दुई वर्ष अघि महिला तथा बालबालिका कार्यलयमा निवेदन दिएको तर महिला तथा बालबालिका कार्यलय खारेज भएपछि सम्बन्धित गाउँपलिकाबाट पाउनुपर्ने भएपनि अहिलेसम्म पाउन नसकेको बताए ।
यसैगरी सितगङ्गा नपा–१ का २२ वर्षीय विष्णु भाट क्षेत्रीले परिचय पत्र नहुँदा मासिक भत्ता, यातायता, र आफ्नो पहिचानसमेत नभएको बताए । नगरपालिकामा गएर धेरै पटक पहल गरेपनि अब हुन्छ भन्ने जवाफ मात्र पाएको उनको भनाई छ ।
पाणिनी गाउँपालिकाकी २१ वर्षीया सीता घिमिरेले अपागङ्ता परिचय पत्र नभएका कारण विद्यालय तथा कलेजमा समेत सेवा सुविधा पाउन नसकेको गुनासो गरिन् ।
अपागङ्गता परिचय पत्र वितरण कार्यविधि तयार भएकाले अन्तिम गाउँसभामा लगी पास गर्न मात्रै बाँकी रहेको र सो कार्य छिट्टै हुने र वितरण प्रक्रिया सुरू हुने सितगङ्गा नगरपालिका उपप्रमुख टिका रेश्मीले बताए ।
पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले कार्यविधिको काम भइरहेको केही दिनमा गाउँपालिकाबाट पास गरी वितरण प्रक्रिया सुरू हुने बताए ।
अपाङ्गता भएका व्याक्तिहरूको अधिकार संरक्षण ऐन २०७४ को पहिलो संशोधन २०७५ ले स्थानीय तहमा अपाङ्गता समन्वय समिति गठन गरी, स्थानीय तहको अपागङ्गता परिचय पत्र वितरण कार्यविधि नगर वा गाउँसभाबाट पास गरी वितरण गर्नुपर्ने कानुनी व्यावस्था रहेको छ ।