वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा अनुमति बिना मोटरसाइकल र्याली निकाल्दै सार्वजनिक शान्ति सुरक्षा खलल पुर्याएको आरोपमा प्रहरीले ०८२ माघ २४ गते वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय कुलबहादुर शाही, सोही ठाउँका २४ वर्षीय लोकराज शाही, १९ वर्षीय कमल मल्ल, १८ वर्षीय प्रविनराज शाही, १८ वर्षीय शिव थापा मगर, २० वर्षीय पवन कार्की, २१ वर्षीय सरवजंग शाही, वीरेन्द्रनगर नगरपालिका–५ का २० वर्षीय सुदीप शाही र अन्य १७ जना बालक गरी २५ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका १७ जना बालकहरुलाई माघ २५ गते सामान्य तारेखमा अभिभावकको जिम्मा लगाइएको र अन्य आठ जना मुख्य व्यक्तिहरुलाई सार्वजनिक शान्ति सुरक्षा खलल पारेको अभियोगमा मुद्दा चलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले बताउनु भयो।
माघ २४ गते दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिकै तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा वीरेन्द्रनगर–३ तातापानी, सुर्खेत स्थित ‘THE DANGEROUS SKULL’ नामक युवा क्लबका सदस्यहरूले स्थानीय प्रशासनको अनुमति बिना कालो, सेतो रङ्गका झण्डा बोकी मोटरसाइकल र स्कुटीमा र्याली निकालेका थिए ।
उक्त र्यालीका क्रममा हो–हल्ला गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचन ०८२ को आचारसंहिता र निर्वाचन सम्बन्धी कानुनले निषेध गरेका गतिविधि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी बढथापाले बताउनु भयो । उहाँका अनुसार आठ ओटा मोटरसाइकल र चार ओटा स्कुटी समेत नियन्त्रणमा लिइएको छ ।