INSEC Online

📅 २०८३ जेष्ठ २२

मधेश प्रदेशमा १ हजार २ सय ४६ मतदान स्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मधेश प्रदेशका आठ ओटै जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा १ हजार २ सय ४६ मतदान स्थल अति संवेदनशील रुपमा तोकिएको छ भने १ सय ६० मतदान केन्द्रलाई मात्र सामान्य वर्गीकरणमा राखिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाका अनुसार सुरक्षा चुनौती देखिएका मतदान स्थललाई अति संवेदनशील र जोखिम न्यून रहेका स्थललाई सामान्य सूचीमा राखिएको छ। सबै जिल्लाका मतदान स्थलको स्थलगत अनुगमन, निरीक्षण तथा सुरक्षा जोखिम मूल्याङ्कनपछि मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा वर्गीकरण गरिएको थापाले बताउनु भयो ।

सप्तरी जिल्लाका मतदान केन्द्रमा सुरक्षा चुनौति बढी देखिएका छन्। जिल्लामा रहेको २ सय ९६ मतदान स्थलमध्ये २ सय ९ ओटा मतदान स्थल अति संवेदनशील सूचीमा परेको छ ।

यसैगरी सिराहामा १ सय ५४, धनुषामा १ सय ९४, महोत्तरीमा १ सय ६३, सर्लाहीमा १ सय ५८, रौतहटमा १ सय ५२ तथा बारामा १ सय ४५ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएका छन्। मधेश प्रदेशका ८ वटै जिल्लामा कुल ७ सय ६३ वटा मतदान स्थल संवेदनशील सूचीमा रहेका छन्। तीमध्ये सर्लाही जिल्लामा सबैभन्दा बढी १ सय ३१ मतदान स्थल संवेदनशील सूचीमा परेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आठ ओटै जिल्लामा नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको व्यापक परिचालन गरिने तयारी गरिएको छ। सुरक्षा निकायका अनुसार मधेश प्रदेशमा ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज परिचालन गरिनेछ । त्यसैगरी ४० हजार नेपाल प्रहरी तथा निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको छ। सशस्त्र प्रहरी बलबाट १० हजार सुरक्षाकर्मी खटाउने तयारी गरिएको  साथै अतिरिक्त आवश्यकता अनुसार नेपाली सेनासमेत परिचालन गरिने प्रवक्ता थापाले बताउनुभयो।

सन्तोष कुमार यादव

अन्य

भिडियो