जिल्लाको एकमात्र सर्जरी सहितको सुत्केरी सेवा बन्द हुँदा सेवाग्राही महिलाहरू समस्यामा परेका छन् । गएको साउन महिनादेखि नै बन्द भएको सो सेवा सञ्चालनमा आउन नसकेको मन्थली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिए ।
रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालमा रहेको सर्जरी सहितको सुत्केरी सेवा जिल्लाकै एक मात्र स्वास्थ्य संस्था हो । जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र मन्थली बाहेक अन्यत्र कतै पनि यो सेवा सञ्चालनमा छैन ।
सामान्य रूपमा सुत्केरी हुन नसकेका महिलाहरूको सर्जरी अर्थात अप्रेसन गरेर बच्चा निकाल्ने यो सेवा बन्द हुँदा रामेछाप र रामेछापसँग जोडिएका ओखलढुङ्गा, सिन्धुली र दोलखाका महिलाहरूलाई अप्रेसन गरी बच्चा निकाल्नु परेमा धुलीखेल पु¥याउनु पर्ने बाध्यता रहेको छ । जसले गर्दा महिलाहरूको बाटैमा ज्यान जाने खतरा बढेको छ ।
जिल्लामा एउटा पनि सर्जरी सहितको सुत्केरी सेवा दिने स्वास्थ्य संस्था नहुँदा बच्चा जन्माउन नसकेर महिलाहरूको बारम्बार मृत्यु भएपछि तीन वर्षअघि मन्थलीमा यो सेवा सञ्चालनमा ल्याइएको थियो ।
स्थापनाको सुरूमा एकजना मात्र डाक्टर राजन न्यौपानेले सो सेवा दिएको र स्वास्थ्य केन्द्रमा उनले काम छाडेपछि केही समय सो सेवा बन्द भएको थियो ।
पछि प्राथमिक स्वास्थ्य केन्द्रले त्यहीँ कार्यरत डाक्टर निलिजा शाक्यलाई तालिम दिई सर्जरी गराउँदै आएको थियो । तर, ती डाक्टर पनि सरूवा भएपछि प्राथमिक स्वास्थ्य केन्द्रमा सो सेवा बन्द भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः सो सेवा सञ्चालनको लागि तयारी भई रहेको भए पनि अझै केही समय लाग्ने नगर स्वास्थ्य शाखा प्रमुख फुयाँलले बताए ।
यो सेवा सुरू भएको वर्ष २०७२/०७३ मा ११ जनाले, त्यसपछिको वर्ष १ सय ३१ जनाले र २०७४/०७५ मा २१ जनाले सो सेवा लिएका थिए भने यो आर्थिक वर्षमा सो सेवा ठप्प छ ।