१६ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का ३१ वर्षीय विनोद चन्दलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश प्रकाश प्रसाद पण्डितको पुस २५ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १० वर्ष कैद, ५ लाख रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र १ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८० असार २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असार २२ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो । प्रहरीले आरोपितलाई असार २२ गते घरबाटै गिरफ्तार गरी साउन १५ गते जवरजस्तीकरणी सम्बन्धी मुद्दा चलाएको थियो ।