पुर्वी रूकुममा सदरमुकाम सार्ने विषयमा विवाद बढेपछि सम्भावित खतरा टार्न जिल्ला प्रशासन कार्यालयले माघ २१ गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
हाल सदरमुकाम रहेको सिस्ने गाँउपालिकाको रुकुमकोटबाट पुथाउत्तरगङ्गा गाउँपालिकाको गोल्खाडामा सदरमुकाम सार्ने निर्णय कार्यान्वयनको माग गर्दै स्थानीयले आन्दोलन घोषणा गरेपछि सदरमुकामको चार किल्लामा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सिस्ने गाउँपालिका–५ का धौलापहिरा, पश्चिममा रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ को रुकुमगाडा हुँदै धाउनेको पानीघट्टसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को रुमालाबारा हुँदै शहीद पार्कसम्म कर्फ्यु लगाइएको छ ।
रूकुम पुर्वमा रुकुमकोट र गोल्खाडावासी बिच माघ १९ र २० गते भएको छलफलमा दुई पक्षले आ–आफ्नो स्थानमा सदरमुकाम हुनुपर्ने दावी नछाडेपछि झडपको स्थिति आएको थियो ।
गोल्खाडावासीले माघ १८ गते गरेको पत्रकार सम्मेलनमा सदरमुकाम गोल्खाडामा उपयुक्त हुने अभिव्यक्ति दिएको भन्दै रुकुमकोट सदरमुकामका पक्षमा रहेकाहरूले माघ १९ गते नेकपाका जिल्ला अध्यक्ष सतमान पुन र पूर्व सहकारी मन्त्री केशरमान रोकायालगायत चार जनामाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका रोकाया र पुनलाई उपचारका लागि माघ २० गते काठमाडौँ लगिएको छ ।