बाल सुधार गृह भवन र जिल्ला कारागार नहुँदा थुनुवा बालबालिका जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा उमेर पुगुका थुनुवासँग राख्ने गरिएको छ ।
जिल्लामा भएका विभिन्न अपराधिक घटनामा बालबालिका संलग्न भएको भन्दै प्रहरीले गिरफ्तार गर्न थालेपछि भवनको अभावले प्रहरी हिरासतमा रहेका थुनुवासँग बालबालिका बस्न बाध्य भएका हुन् ।
गत वैशाखदेखि यता करिब ५० ओटा चोरीका घटनामा बालबालिका संलग्न रहेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ । ती बालबालिका कैदीबन्दीसँग रहँदा बसोबासमा असुविधा भएको हो ।
हुम्ला जिल्लामा बाल सुधार गृह नभएपछि बालबालिकालाई कैदीसँगै राख्न बाध्य भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले बताए ।
हाल कैदी र थुनुवासँग चोरी घटनाका दुई जना बालबालिका प्रहरी हिरासतमा रहेको श्रेष्ठले बताए । प्रहरीको हिरासतमा पानी, शौचालय, विद्युत, स्वास्थ्य तथा पत्रपत्रिका, रेडियो, टिभी, खेलकुद, विद्यालय सामग्री नहुँदा समस्या भएको थुनुवा बालबालिकाले गुनासो गरेका छन् । नुहाउन र सरसफाइ त के पिउने पानीसमेत नहुँदा मर्कामा परेको थुनुवा बालबालिकाले बताए ।
जिल्लामा कारागार भवन पनि छैन । कारागार भवन नहुँदा कैदी र थुनुवालाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राख्ने गरिएको छ ।